४९ सांसदले मातृभाषामा शपथ लिने

राष्ट्रपाटी न्युज

चैत्र १०, २०८२

काठमाडौँ । नवनिर्वाचित ४९ जना प्रतिनिधिसभा सदस्यले नेपालीबाहेक आफ्नै मातृभाषामा पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

संघीय संसद् सचिवालयका अनुसार सांसदहरूले मैथिली, भोजपुरी, नेपाल भाषादेखि लिएर संस्कृतसम्मका भाषाहरूमा शपथ लिन नाम दर्ता गराएका हुन्।

सचिवालयका अनुसार नेपालीपछि अधिकांश सांसदले मैथिली र नेपाल भाषामा शपथ लिनेछन्। केही सांसदले लोपोन्मुख भाषाहरू पनि रोजेका छन्।

सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने तयारी गरेकी छन्। त्यस्तै, बझाङ्गी, डोटेली, चाम्लिङ, बान्तवा, छन्त्याल र मगर खाम भाषाजस्ता रैथाने भाषाहरू पनि यसपटक संसदमा गुञ्जिनेछन् ।

केही सांसदले थारु भाषाभित्रको पनि राना थारु र कठरीया थारु भाषामा शपथ लिने भन्दै नाम टिपाएका छन्।

कसले कुन भाषा रोजे ?

मैथिली : रामजी यादव, शम्भु कुमार यादव, सिताराम साह, अंकिता ठाकुर, आशा झा, उज्जल कुमार झा, कामिनी कुमारी, तपेश्वर यादव, दिपक कुमार साह, निशा मेहता लगायत।

नेपाल भाषा : विराजभक्त श्रेष्ठ, रुकेश रन्जित, शाहजान खातुन, अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुशुम महर्जन, गंगालक्ष्मी अवाल, मदनकृष्ण श्रेष्ठ लगायत।

भोजपुरी र बज्जिका : रविन्द्र पटेल, कन्हैया बनिया, बुद्धि प्रसाद पन्त (भोजपुरी) तथा राजेश कुमार चौधरी, नितिमा भण्डारी (बज्जिका)।

थारु : सुरेन्द्र चौधरी, अमर कान्त चौधरी, अशोक कुमार चौधरी, गीता चौधरी, प्रमिला कुमारी गच्छदार (थारु), कृपाराम राना (राना थारु) र करिश्मा कठरिया (कठरीया थारु)।

डोटेली र बझाङ्गी : हरिणा देवी कामी, आकृति अवस्थी, दिपक राज बोहरा (डोटेली) र ऐन बहादुर महर (बझाङ्गी)।

किराँती तथा पहाडी भाषा : निश्कल राई (चाम्लिङ), ध्रुवराज राई (बान्तवा), गंगा छन्त्याल (छन्त्याल), रेनुका काउचा (मगर खाम भाषा) र परशुराम तामाङ्ग (तामाङ्ग)।

अन्य : मोहम्मद इश्तियाक राई (अवधि), राज किशोर महतो, जोग कुमार बरबरिया यादव, प्रमोद कुमार महतो (मगही) र खुश्बु ओली (संस्कृत)।


Published :चैत्र १०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media