फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ वृद्धि

राष्ट्रपाटी न्युज

बैशाख ३, २०८३

काठमाडौं । सरकारले डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँ बढाएको छ। नेपाल आयल निगमले बुधबार जारी गरेको सूचनामा  डिजेल र मट्टितेलको मूल्य बढेको जानकारी दिएको हो। योसँगै काठमाडौं, पोखरा, दिपायलमा डिजेलको मूल्य बुधबार मध्यरातिबाट प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ।

मूल्य समायोजनपश्चात समेत डिजेलमा प्रति लिटर  ९९.१६ रुपैंयाले अझै घाटा हुने निगमको भनाई छ। निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको छ।

पेट्रोलको मूल्ययथावत् राखिएको निगमको भनाई छ। मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको विज्ञप्तिमा उल्लेख छ।

पेट्रोलियम पदार्थको लागत मूल्य बढी र बिक्री मूल्य कम भएको कारणले मूल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रति लिटर रु. २.३२, डिजेलमा प्रति लिटर रु. ८७.९९, मट्टितेलमा रु. ३६.७० र एल.पी. ग्यासमा प्रति सिलिण्डर रु. ३३१.२५ घाटा कायम नै रही १५ दिनमा करिब ७ अर्ब ८१ करोड ६१ लाख घाटा भएको विज्ञप्तिमा उल्लेख छ।

मूल्यवृद्धि निरन्तर भएपछि सरकारले केही दिन अगाडि सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको थियो।  व्यवसायीहरूका अनुसार ढुवानी खर्च ह्वात्तै बढ्ने भएकाले तरकारी, खाद्यान्न, निर्माण सामग्री लगायतका वस्तुको मूल्य फेरि बढ्न सक्नेछ। डिजेल ढुवानी तथा औद्योगिक क्षेत्रमा प्रमुख रूपमा प्रयोग हुने भएकाले मूल्यवृद्धिको सीधा असर दैनिक उपभोग्य वस्तुमा पर्ने निश्चित छ।


Published :बैशाख ३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media