भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

राष्ट्रपाटी न्युज

बैशाख ३, २०८३

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन वा सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ।

महासंघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्ला केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण डिजेल र पेट्रोलको मूल्य निरन्तर बढ्दै जाँदा यातायात व्यवसाय सञ्चालन गर्न कठिन भएको जनाएको छ। मूल्यवृद्धिले यात्रुवाहक तथा मालवाहक सवारी साधन सञ्चालनमा प्रत्यक्ष असर परेको महासंघको भनाइ छ।

सरकारले विगतमा लागू गरेको स्वचालित मूल्य प्रणालीका आधारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा त्यसअनुसार भाडा समायोजन नगर्दा व्यवसायीहरू मारमा परेको महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए।

महासंघले २०७९ सालयता लागू वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार मूल्य समायोजन हुनुपर्ने माग गरेको छ। वर्तमान परिस्थितिमा पेट्रोलियम पदार्थको खपत घटाउने र सेवा सञ्चालनलाई प्रभावकारी बनाउने प्रयास गरिए पनि लागत अत्यधिक बढेकाले तत्काल समाधान आवश्यक रहेको जनाएको छ।

महासंघले नेपाल आयल निगममार्फत भइरहेको पटक-पटकको मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गर्दै यथाशीघ्र निर्णय लिन आग्रह गरेको छ।


Published :बैशाख ३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media