
काठमाडौँ । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले यो जलमार्ग बन्द गरेको थियो ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत लेबनान र इजरायलबीचको १० दिने युद्धविरामलाई मध्यनजर गर्दै बाँकी अवधिका लागि यो मार्ग खुला गरेको जानकारी दिएका हुन् । तर, जहाजले इरानी बन्दरगाह तथा समुद्री संगठनले तोकेको ‘समन्वयित सुरक्षित मार्ग’ मात्र प्रयोग गर्नुपर्ने शर्त इरानले राखेको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो कदमलाई विश्वका लागि सकारात्मक भनेका छन् । यद्यपि, दुई देशबीच पूर्ण शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक घेराबन्दी भने नहट्ने उनले प्रष्ट पारेका छन् । अमेरिका र इरानबीचको वर्तमान युद्धविराम आगामी अप्रिल २२ मा सकिँदैछ ।
इरानले बाटो खुला गरेको दाबी गरे पनि अन्तर्राष्ट्रिय समुद्री समूहले भने तत्कालै जहाज पठाउन जोखिम रहेको बताएका छन् । जहाज ट्र्याकिङ डेटाका अनुसार उक्त क्षेत्रमा अहिले पनि जहाजको आवागमन निकै कम छ । इरानी सैन्य अधिकारीका अनुसार व्यापारिक जहाजलाई अनुमति दिइए पनि विदेशी सैन्य जहाजलाई भने उक्त मार्गमा अझै निषेध गरिएको छ । (एजेन्सी)