
कैलाली । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान सरकारका गतिविधि उपयुक्त नरहेको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उनले सुकुम्बासी तथा भूमिहीन नागरिकलाई घरविहीन बनाएर सरकारले दमनकारी शैली अपनाइरहेको आरोप लगाए ।
“सरकार अहिले अनियन्त्रित भएर टहरा भत्काइरहेको छ,” उनले भने, “मन्दिरको घण्टी बजाउँदै सरकारमा गएको सरकारले अहिले मन्दिर र घण्टी नै भत्काइरहेको छ।”
उनले भूमिहीन र सुकुम्बासीको उचित व्यवस्थापन नगरी संरचना हटाउने कार्य गर्नु उचित नभएको बताए ।
प्रधानन्यायाधीश नियुक्तिको विषयले पनि सरकारको नियतमाथि प्रश्न उठाएको उनको भनाइ थियो । सरकारका सकारात्मक काममा समर्थन रहने भए पनि संविधान र लोकतन्त्रविरुद्धका गतिविधिमा कांग्रेस मौन नबस्ने उनले स्पष्ट पारे ।
“संविधानभित्र रहँदासम्म नयाँ बनेको सरकारलाई हाम्रो साथ, सहयोग र समर्थन रहन्छ,” उनले भने, “तर सरकारका गतिविधि त्योअनुसार देखिँदैनन्।”
शर्माले लोकतन्त्रलाई नियन्त्रित बनाउँदै राज्यका विभिन्न निकाय कब्जा गर्ने नीति सरकारले लिएको आरोप समेत लगाए ।
उनले कांग्रेसले आफ्ना विगतका कमजोरी स्वीकार गर्दै नयाँ ढंगबाट अघि बढ्ने तयारी गरिरहेको जानकारी दिए । विशेष महाधिवेशनमार्फत पार्टीलाई रूपान्तरण गर्ने प्रयास भइरहेको उनको भनाइ थियो ।
कांग्रेस सभापतिमा गगन थापा भए पनि शेरबहादुर देउवाको भूमिका र योगदान उत्तिकै स्मरणीय रहने उनले बताए ।
देश निर्वाचनतर्फ उन्मुख भइरहेको उल्लेख गर्दै उनले नेता–कार्यकर्तालाई त्यसअनुसार तयारीमा जुट्न निर्देशन दिए ।