संसद्मा सरकारविरुद्धको विरोधलाई निरन्तरता दिने विपक्षीको निर्णय

राष्ट्रपाटी न्युज

जेष्ठ १०, २०८३

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जवाफदेही हुनुपर्ने निष्कर्ष निकाल्दै प्रतिनिधिसभामा सरकारविरुद्धको विरोधलाई निरन्तरता दिने निर्णय गरेका छन् ।

सिंहदरबारस्थित नेकपा (एमाले) संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलका प्रमुख सचेतकहरूको बैठकले आगामी प्रतिनिधिसभा बैठकमा सरकारको कार्यशैली र संसद्प्रति देखिएको बेवास्ताको कडा विरोध गर्ने सहमति गरेको हो ।

बैठकमा सहभागी दलहरूले बालेन्द्र शाह नेतृत्वकाे सरकारले संसद्लाई उपेक्षा गरेको, विपक्षी दलका आवाजलाई बेवास्ता गरेको तथा संसदीय अभ्यास कमजोर बनाएको आरोप लगाएका छन् ।

एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सरकारको कार्यशैली, संसद्प्रति देखिएको उपेक्षा र सभामुखको भूमिकाबारे गम्भीर छलफल भएको जानकारी दिए । उनका अनुसार संसद्भित्र विपक्षीको आवाज दबाउने र पेलेर अघि बढ्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरिएको छ ।

बैठकमा सहभागीहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकाबारे पनि प्रश्न उठाउँदै निष्पक्षतामाथि शंका व्यक्त गरेका छन् ।

त्यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वा नेतृत्व तहबाट संसद्लाई बेवास्ता गरिएको र विपक्षीको विरोधलाई समेत नजरअन्दाज गरिएको विषयमा गम्भीर छलफल भएको बताए ।

बैठकमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा, एमालेका ऐनबहादुर महर, नेकपाका युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओली सहभागी भएका थिए ।


Published :जेष्ठ १०, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media