पूर्व सांसद लक्ष्मी महतो कोइरी प्रहरी नियन्त्रणमा

राष्ट्रपाटी न्युज

असार १८, २०८३

काठमाडौँ । महोत्तरी प्रहरीले पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई नियन्त्रणमा लिएको छ । ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या प्रकरणमा उच्च अदालतको फैसलाअनुसार कैद सजाय ठहर भएपछि उनलाई नियन्त्रण गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मिति २०८३ असार १८ गते साँझ करिब ६ बजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गौशाला नगरपालिका-५ स्थित एमाले पार्टी कार्यालय अगाडिको सार्वजनिक स्थानबाट गौशाला नगरपालिका-२ निगौल निवासी पूर्व सांसद कोइरीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०७२ भदौ २५ गते ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या भएको घटनामा चलेको कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतको २०८० मंसिर २८ गतेको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरले २०८३ असार १७ गते कोइरीलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो।

उक्त फैसलाको कार्यान्वयनका लागि पक्राउ गरिएका कोइरीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Published :असार १८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media