
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकारको सय दिनको कार्यकाल सन्तोषजनक नरहेको टिप्पणी गर्दै सरकारप्रति जनतामा देखिएको आशा र विश्वास क्रमशः घट्दै गएको बताएका छन्।
सोमबार संघीय संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै नेता केसीले सरकारले घोषणा गरेका सय बुँदे कार्यक्रममध्ये करिब ३७–३८ बुँदामात्र कार्यान्वयन भएको दाबी गरे । बाँकी अधिकांश कार्यक्रम कार्यान्वयनको अवस्था शून्य रहेको उनको भनाइ थियो।
उनले लोकतन्त्रमा परिणामसँगै प्रक्रिया पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै वर्तमान सरकारले लोकतान्त्रिक विधि, प्रक्रिया र संस्थागत अभ्यासलाई निरन्तर बेवास्ता गरेको आरोप लगाए।
नेता केसीले प्रधानमन्त्रीको संसदप्रतिको जवाफदेहितामाथि पनि प्रश्न उठाउँदै संसदमा प्रधानमन्त्रीले व्यक्त गर्ने धारणा नै आधिकारिक हुने स्मरण गराए । जेठ १७ गतेदेखि उठाइएका प्रश्नहरूको पाँच सातासम्म पनि जवाफ नआएको भन्दै उहाँले यसलाई दुःखद् अवस्था भएको बताए ।
प्रधानमन्त्री संसदमा उपस्थित भई उठेका प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने वा आवश्यक परे आफ्ना भनाइ सच्याउनुपर्ने दायित्व रहेको उल्लेख गर्दै उनले त्यसो नगरी संसदलाई बेवास्ता गर्नु संसदीय अभ्यास र संसद्को सम्मानविपरीत भएको टिप्पणी गरे ।