अर्घाखाँचीको एयरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुईजना घाइते

राष्ट्रपाटी न्युज

कार्तिक ११, २०७९

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एयरपोर्टमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । सन्धिखर्क-१० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेयमा मोटरसाइकल चलाउने क्रममा गए राती अनियन्त्रित भई दुई मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

प्रदेश नम्बर २-०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका- १ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अर्को बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन् । घाइतेको बुटवलमा रहेको मर्सिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीको भनाइ छ । मोटरसाइकल ओभर स्पिडका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनु‍सन्धान रहेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


Published :कार्तिक ११, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media