शिक्षकहरुको आन्दोलन जारी, आज सिठी बजाएर विरोध प्रदर्शन

काठमाडौं । शिक्षकहरूले आज पनि माइतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । मंगलबार नेपाल राहत शिक्षक केन्द्रीय समिति, पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समिति, नेपाल बाल विकास शिक्षक संघर्ष समिति लगायतका विभिन्न ८ वटा संघ संगठनले आन्दोलन गरिरहेका छन्।

हिजो(सोमबार) सडकमै सुतेर आन्दोलन गरेका थिए ।  आज भने उनीहरूले सिठी बजाएर विरोध प्रदर्शन गरेका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए । ‘हामी आन्दोलन रोक्दैनौँ, निरन्तर जारी राख्छौँ,’उनले भने ।

उनीहरूले विद्यालय शिक्षा विधेयक विरुद्ध असोज ३ गतेदेखि नै विरोध प्रदर्शन गरिरहेका छन् । तीन दिनसम्म प्रदर्शन गरिसकेपछि गत शुक्रबार सरकार र नेपाल शिक्षक महासंघबीच ६ बुँदे सहमति भएको थियो। तर,उक्त सहमतिमा मागहरू समावेश नभएको भन्दै ती शिक्षकहरूले भने आन्दोलन जारी नै राखेका छन् ।


Published :अशोज ९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media