असन्तुष्ट शिक्षक र मन्त्रालयबीच शुक्रबार वार्ता हुँदै

राष्ट्रपाटी न्युज

अशोज ११, २०८०

काठमाडौँ । नेपाल शिक्षक महासंघले धोका दिएपछि निरन्तर रुपमा  आन्दोलन गरिरहेका राहतलगायतका शिक्षक र शिक्षा मन्त्रालयबिच भोलि शुक्रबार वार्ता हुने भएको छ ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा असोज १२ गते ११ बजे मन्त्रालयमा वार्ता हुने मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ ।

असन्तुष्ट राहतलगायतका शिक्षकहरूका असहमतिलाई वार्ताबाटै निकास निकाल्न नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालय पटकपटक छलफलमा बसेपछि वार्ता गर्ने तयारी भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार आज आन्दोलनरत पक्ष र महासङ्घसँग अनौपचारिक वार्ता गरेर करिब विषयवस्तु टुङ्गिएको र भोलि त्यसलाई औपचारिक रूपमा बसेर सहमति गर्ने तयारी भएको छ । साथै अनौपचारिक छलफलपछि  बिहीबार मन्त्रालयले वार्तामा आएर छलफल गर्न पत्र पठाएको जनाएको छ । मन्‍त्रालय स्रोतका अनुसार बिहीबारको छलफलबाट निकास निस्किएको छ ।

शिक्षा मन्त्रालयले नेपाल शिक्षक महासङ्घको नेतृत्वमा वार्तामा आउन आग्रह गरे पनि राहत शिक्षक लगायत आन्दोलनरत शिक्षकहरूले अस्वीकार गर्दै आएका थिए । नेपाल शिक्षक महासङ्घको असोज ५ गते सरकारसँग ६ बुँदे सम्झौता भएपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिले महासङ्घले धोका दिएको भन्दै निरन्तर सडक आन्दोलन गर्दै आएका छन् ।

सोही क्रममा बुधबार प्रहरीले शिक्षकहरुको शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरी शिक्षकहरुमाथि निर्मम ढंगले दमन गरेको थियो । त्यसको चौतर्फी विरोध भएको थियो ।


Published :अशोज ११, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media