युक्रेनले सीमा क्षेत्रमा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको रुसको दाबी

राष्ट्रपाटी न्युज

मंसिर ५, २०८१

मस्को ।रुसी सेनाले मङ्गलबार युक्रेनले ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य सुविधामा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । यो वासिङ्टनले आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएपछिको पहिलो आक्रमण हुनेछ ।

“स्थानीय समयानुसार बिहान ०३:२५ बजे शत्रुले ब्रयान्स्क क्षेत्रमा छ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । पुष्टि गरिएको तथ्याङ्कअनुसार अमेरिकामा निर्मित एटिएसिएमएस सामरिक क्षेप्यास्त्र क्षेपणास्त्रहरू प्रयोग गरिएको थियो”, सैन्य मन्त्रालयले एक बयानमा भनेको छ ।

युक्रेनले महिनौँदेखि वासिङ्टनलाई रूसी क्षेत्रमा रहेका स्थलहरूमा प्रहार गर्न लामो दूरीको एटिएसिएमएस क्षेप्यास्त्र प्रयोग गर्न दिन माग गर्दै आएको थियो ।

मस्कोले रुसको अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रमा आक्रमण गर्न पश्चिमी हतियारको प्रयोगले संयुक्त राज्य अमेरिकालाई द्वन्द्वमा प्रत्यक्ष सहभागी बनाउने र ‘उचित र स्पष्ट जवाफ’ दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

आफ्नो बयानमा रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई सुरक्षाद्वारा पाँच वटा क्षेप्यास्त्र खसालिएको र छैटौँको टुक्रा अनिर्दिष्ट ‘सैन्य सुविधा’ मा खसेको भन्दै सानो आगलागी भएको बताएको छ । “कुनै हताहत वा क्षति भएको छैन”, मन्त्रालयले भन्यो ।

युक्रेनका विदेशमन्त्रीले सोमबार रुसभित्र आक्रमणका लागि क्षेप्यास्त्र प्रयोग गर्ने अनुमतिको लगभग तीन वर्ष पुरानो द्वन्द्वमा सम्भावित ‘गेम चेन्जर’ का रूपमा प्रशंसा गरे । (रासस)


Published :मंसिर ५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media