बुढानीलकण्ठका शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंह सम्मानित

राष्ट्रपाटी न्युज

मंसिर १७, २०८१

बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिकाले उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको छ । नगरपालिकामा मंसिर १६ गते आयोजित ११ औं नगर स्थापना दिवसको अवसर पारेर ८ जना कर्मचारीलाई सम्मान सहित पुरस्कृत गरिएको हो ।

उत्कृष्ट कर्मचारी छनोट तथा सिफारिसका लागी गठन गरिएको ३ सदस्यीय कार्यदलले ८ वटा विधामा पुरस्कारलाई विभाजन गरेका थिए । कार्यदलको संयोजकमा उपप्रमुख अनिता लामा तथा सदस्यहरुमा वडा नं. ४ का वडाध्यक्ष श्रीराम के.सी र वडा नं १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई रहेका थिए ।

जसअनुसार महाशाखा प्रमुख विधाबाट शिक्षा युवा तथा खेलकूद महाशाखा प्रमुख तथा उपसचिव ललित विक्रम सिंह पुरस्कृत भएका छन् ।

यस्तै शाखा प्रमुख/अधिकृत स्तर मध्येबाट पशु सेवा शाखा प्रमुख ओमकुमारी गुरुङ्ग, वडा सचिवहरुमध्येबाट वडा नं. १० का वडा सचिव भोलाराज ढुङ्गाना, सहायकस्तर कर्मचारी तर्फ वडा नं. ११ का प्राविधिक (सब इन्जिनियर) विमल कार्की र स्वास्थ्यचौकीहरुमध्ये चुनीखेल स्वास्थ्य चौकी, वडा नं. १३ का ईन्चार्ज सरिता श्रेष्ठ पुरस्कृत भएका छन् ।

सँगै, नगरप्रहरीमध्ये नगरप्रहरी जवान बिमला तामाङ्ग र श्रेणीविहीन कर्मचारीमध्ये हेभी सवारी चालक अर्जुन भण्डारीलाई पुरस्कार दिईएको थियो ।

सोहि कार्यदलले बुढानीलकण्ठ लाइफटाइम एचिभमेन्ट अवार्ड तर्फ वडा नं. १३ का वडा सचिव नरेन्द्र श्रेष्ठलाई पुरस्कार सहित सम्मान गरेको थियो ।

पुरस्कृत हुन सबै कर्मचारीहरुलाई नगद रु. १५,०१५/- (पन्ध्र हजार पन्ध्र) राशी सहित, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको थियो।


Published :मंसिर १७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media