बुढानीलकण्ठ नगरपालिकाले चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्दै

काठमाडौँ । २०७८ सालदेखि श्रृंखलाबद्ध रुपमा वृत्ति तथा रोजगार मेला आयोजना गर्दै आइरहेको बुढानीलकण्ठ नगरपालिकाले यही फागुन २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्न गइरहेको छ। शिक्षा, सीप र उद्यमशीलता रोजगारी हाम्रो प्राथमिकता भन्ने नारा सहित चौथो वृत्ति मेला आयोजना गर्न गइरहेको यस नगरपालिकाले यसपालीको मेलामा युवा रोजगारीलाई विशेष प्राथमिकतामा राखेको छ ।

पहिलोदेखि तेस्रो वृत्ति मेलामा समेत रोजगारी र युवा तथा विद्यार्थी वृत्ति परामर्शलाई प्राथमिकतामा राखिएको थियो । यसअघिका तीनवटै वृत्ति तथा रोजगार मेलामा बेरोजगार युवाहरुको तथ्यांक संकलन गरिएको थियो । तथ्यांक संकलनका क्रममा बेरोजगार युवाहरुले लिन चाहेको रोजगारमूलक तालिमको माग संकलन समेत गरिएको थियो। उक्त माग बमोजिम यही वृत्ति तथा रोजगार कार्यक्रमअन्तर्गत २० जनालाई सिनियर १० महिने प्लम्बरिङ, ६० जनालाई कुकिङ र ४० जनालाई १० महिने कम्प्युटर हार्डवेयर तालिम प्रदान गरिएको छ। यसैगरी १२ वटै सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थी वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिएको छ। स्वचालित रुपमा बेरोजगार युवाहरुको सीप र अनुभव सहितको विवरण अनलाइनमार्फत् भर्ने र सोबाट रोजगार प्रदायकले आफूलाई आवश्यक जनशक्ति छनोट गरी रोजगार प्रदान गर्न सक्ने गरी स्वचालित रोजगार प्रणाली सञ्चालनमा ल्याइएको छ। यसअघि सम्पन्न तीन वटै वृत्ति तथा रोजगार मेला विद्यार्थी, युवा र गृहिणी महिलाहरुको आकर्षणको केन्द्र बनेको आम अनुभूति रहन गएको छ।

यसपूर्वका वृत्ति तथा रोजगार मेलाको सफलताबाट उत्साहित बुढानीलकण्ठ नगरपालिकाले चौथो वृत्ति तथा रोजगार मेलालाई अझ विशेष बनाउन नगर प्रमुख मिठाराम अधिकारी संयोजक र उपप्रमुख अनिता लामा सहसंयोजक रहने गरी मूल आयोजक समिति बनाएर तयारी कार्यक्रम अघि बढाएको छ। मूल आयोजक समितिमा नगरस्तरीय उद्योग वाणिज्य संघलाई समेत मूल आयोजक समितिमा समावेश गरेर निजी क्षेत्रको मेलामा स्वतस्फूर्त सहभागितालाई प्रोत्साहन गरिएको छ।

मेलामा कम्तीमा १० जनाभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेका उद्यमहरुलाई स्टल राख्न दिने व्यवस्था गरिएको छ। मेलामा कुल ४८ वटा स्टल रहने र उक्त ४८ स्टलमध्ये २८ वटा रोजगारदाता, ६ वटा सीप तथा तालिम प्रदायक, ३ वटा उन्नयनशील युवा उद्यम, ६ वटा रमाइलो शुक्रबार प्रवर्द्धक र बाँकी ५ वटा विविध विषयका स्टलहरु रहने बताइएको छ। यस चौथो वृत्ति तथा रोजगार मेलामा २५ हजारभन्दा बढी युवा तथा विद्यार्थी लगायतले भिजिट गर्ने मेला अवधिमा दर्जनौ‌ं बेरोजगार युवाहरुले रोजगारी प्राप्त गर्ने विश्वास आयोजकले लिएको देखिन्छ । मेलामा विशेष आकर्षणको रुपमा १४० जना कामको खोजीमा रहेका बेरोजगार युवाहरुलाई साइकोमेट्रिक टेष्टमार्फत् वृत्ति पहिचान गरिने र २५० जना युवाहरुलाई वृत्ति पहिचानका लागि डिजिटल प्रविधि (साइकोमेट्रिक सेवा) सम्बन्धी जानकारी प्रदान गरिने कार्यक्रम राखिएको छ। साथै मेला अवधिमा कम्तीमा ५० जना युवाहरुलाई एकल तथा ४०० जना युवाहरुलाई सामूहिक वृत्ति तथा रोजगार परामर्श प्रदान गरिने कार्यक्रम राखिएको आयोजकले बताएको छ।

मेलालाई पूर्ण रुपमा सफल बनाउन विभिन्न उपसिमिति निर्माण गरी क्रियाशील गर्नुका साथै नगरपालिकाभित्रका बेरोजगार युवाहरुलाई यस मेलामार्फत् दिगो रोजगारमा जोड्ने अभिष्ट राखी बेरोजगार युवाहरुको तथ्यांक संकलन कार्यलाई समेत यस वर्ष पनि निरन्तरता दिइएको देखिन्छ। यस नगरपालिकामा स्थायी बसोबास गर्ने १६ वर्षदेखि ४० वर्षसम्मका बेरोजगार युवालाई यही माघ २५ गतेभित्र अनलाइनमार्फत् वा सम्बन्धित वडा कार्यालयमा गएर फर्म भर्न नगरपालिकाले आव्हान गरेको छ।


Published :माघ १५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media