
चितवन। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा आज बिहान सडक भासिएपछि सडक विभागले प्राविधिक तथा विज्ञ टोली परिचालन गरी अध्ययन थालेको छ। सडक चिरिएर भासिएको स्थानमा कसरी मर्मत गर्न सकिन्छ भन्नेबारे अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली कृष्णभीर पुगेको हो।
नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मुग्लिन–मलेखुका रेजिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सडक तत्काल सहज रूपमा मर्मत गर्न सकिने अवस्थामा छैन।
विसं २०५६ मा पहिरो गएको स्थानमै अहिले सडक भासिएर चिरिएको हो। त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएको पाण्डेले बताए।
उनका अनुसार त्रिशूली नदीको पानीको सतह शनिबारको तुलनामा करिब तीन मिटर बढेको छ। पानीको सतह घटेपछि सडकको जगदेखि नै पर्खाल लगाएर माथिसम्म सडक उठाउने वा अन्य विकल्पबाट मर्मत गर्ने भन्ने विषयमा विज्ञ टोलीको अध्ययनपछि मात्र निर्णय गर्न सकिनेछ।
कृष्णभीरमा भित्तो काटेर सडक चौडा गर्नसमेत कठिन रहेको पाण्डेले बताए। करिब २० मिटर लम्बाइको सडकखण्ड आधाभन्दा बढी भासिएको छ। सडक करिब ६० मिटरको उचाइबाट भासिएको र सडकको किनाराबाटै चिरा परेकाले मर्मत चुनौतीपूर्ण बनेको उनको भनाइ छ।
तल्लो भागमा नदीको कटानको अवस्था हेर्न तत्काल पुग्न सक्ने अवस्था नरहेकाले सडकको कति भाग तलबाट खोक्रिएको छ भन्ने यकिन हुन नसकेको पाण्डेले बताए।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सडक भासिएको स्थानको प्राविधिक अध्ययनका लागि काठमाडौँबाट विज्ञ टोली कृष्णभीरतर्फ पठाइएको छ। टोलीको स्थलगत अध्ययनपछि आज साँझसम्म सडक कसरी मर्मत गर्ने भन्नेबारे यकिन गर्न सकिने उनले बताए।
तत्कालका लागि वैकल्पिक सडक प्रयोग गर्नुको विकल्प नरहेको जैसीले जानकारी दिए। अन्य वैकल्पिक सडक सञ्चालनमा रहेकाले यात्रु तथा चालकलाई ती मार्ग प्रयोग गर्न उनले आग्रह गरेका छन्।
विज्ञ टोलीको अध्ययनपछि कृष्णभीरमा एकतर्फी वा दुईतर्फी रूपमा सडक सञ्चालन गर्न सकिने अवस्थाबारे निर्णय गरिने जैसीले बताए।
पृथ्वी राजमार्ग राजधानी प्रवेश गर्ने तथा बाहिरिने प्रमुख मार्ग हो। यस सडकखण्डबाट दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन्।
यसअघि विसं २०५६ मा समेत कृष्णभीरमा पहिरो गएपछि लामो समय सडक सञ्चालनमा समस्या भएको थियो। त्यसबेला सडकको तल्लो भागबाट संरचना निर्माण गरी सडक उकासेर मर्मत गरिएको थियो भने भित्तातर्फ पहिरो रोकथामका काम गरिएको थियो।
गत वर्ष पनि सोही स्थानमा सडक केही भासिएपछि मर्मतको काम भइरहेको थियो। मर्मतकै क्रममा पुनः सडक भासिएर चिरिएको सडक विभागले जनाएको छ।