बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर बन्नुपर्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाढी प्रभावितहरुको उद्धार कार्यमा सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताएका छन्।

चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको निजामती सम्मान कार्यक्रममा प्रचण्डले बाढी आएको लामो समयपछि नागरिकको सकुशल उद्धार हुनु सन्तोषजनक भए पनि समयमै उद्धार कार्यलाई अझ घनीभूत गर्न सकेको भए थप मानिसको ज्यान बचाउन सकिने अवस्था देखिएको बताए।

आगामी दिनमा विपद् व्यवस्थापन र उद्धार कार्यमा राज्य तथा वर्तमान सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। प्रचण्डले त्रास, भय वा दबाब सिर्जना गरेर काम गराउने प्रवृतिले कर्मचारीको मनोबल उच्च रहन नसक्ने भन्दै असल नेतृत्व, समर्पण, नीति तथा योजनाको सही कार्यान्वयनमार्फत उत्प्रेरित र कर्तव्यनिष्ठ बनाउने धारणा राखे।

विपद्को घडीमा त्रास देखाएर नभइ कर्मचारीहरूलाई अझ बढी प्रेरित र जिम्मेवार बनाएर निष्ठापूर्वक काममा खटाउनुपर्नेमा उनले जोड दिए। प्रचण्डले हाल देशको राजनीति, कर्मचारी संयन्त्र र राज्यका सम्पूर्ण निकायहरूमा एक प्रकारको अन्योल, अनिश्चय र अस्थिरताको अवस्था देखिएको उल्लेख गरे।


Published :भदौ २०, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media