रसुवा बाढीः १३ सय ३१ शव फेला, १३ हजारको उद्धार, ५ हजार जना सम्पर्कविहीन

काठमाडाैँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको छ। बाढीमा परेर ५ हजार जना अझै सम्पर्कविहीन रहेका छन्।

विनाशकारी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार फेला परेका शवमध्ये चितवनमा सबैभन्दा बढी ३६० वटा रहेका छन्।

त्यस्तै नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २१९, नुवाकोटमा १९५, रसुवामा १५६, गोरखामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ वटा शव फेला परेका छन्। हालसम्म फेला परेकामध्ये ९८ वटा शवको मात्रै सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बेपत्ता हुनेहरूमा नुवाकोटका करिब २ हजार ३४० जना, रसुवाका १ हजार ९६७ जना, ५८९ जना विदेशी नागरिक तथा १०० जना सुरक्षाकर्मी र सरकारी कर्मचारी रहेका छन्।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार १०१ जनाको सकुशल उद्धार गरिएको छ। जसमा नेपाली सेनाले ४ हजार १६२, नेपाल प्रहरीले ४ हजार ६८ र सशस्त्र प्रहरी बलले ४ हजार ८७१ जनाको उद्धार गरेका हुन्।

बाढीका कारण घाइते तथा प्रभावित भएका ५ हजार ९२९ जनाको उपचार गरिएको छ। जसमध्ये सेनाबाट ३ हजार २९७, सशस्त्र प्रहरीबाट २ हजार ३१६ र विभिन्न अस्पतालमा ३१६ जनाले स्वास्थ्योपचार सेवा लिएका छन्।

विस्थापित प्रभावितका लागि काठमाडौं, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ४१ होल्डिङ सेन्टरमा ३ हजार ९८२ जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापितहरूलाई राहत तथा पुनर्स्थापनाका लागि सरकारी निकायहरू निरन्तर खटिएका छन्।


Published :भदौ २१, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media