देशभर मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको पश्चिमी भूभाग नजिक रहेको छ। साथै उत्तर प्रदेश आसपास विकसित न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा परेको छ ।

हाल मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थान तथा सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भने धेरै भारी वर्षा समेत हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


Published :भदौ २३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media