भदौ २३–२४ : आन्दोलन कि सत्ताको खेल ?

विशाल काफ्ले खत्री।

भदौ २३ र २४ सम्झिँदा आज पनि मन भारी हुन्छ। सडकमा उत्रिएका युवाको आक्रोश, बगेको रगत र गुमेका जीवनहरू कुनै सामान्य राजनीतिक घटना थिएनन्।

तर आज समयले एउटा गम्भीर प्रश्न सोधिरहेको छ—त्यो आन्दोलन केवल जेनजीको स्वतःस्फूर्त विद्रोह थियो, कि युवाको आक्रोशलाई राजनीतिक र बाह्य स्वार्थ पूरा गर्न प्रयोग गरिएको थियो?

तत्कालीन सरकारविरुद्ध असन्तुष्टि थिएन भन्न सकिँदैन। भ्रष्टाचार, बेरोजगारी र बेथितिप्रति युवाको आक्रोश वास्तविक थियो। तर त्यही आक्रोश कसरी यति छिटो राजनीतिक सत्ता परिवर्तनको अस्त्र बन्यो? यसको निष्पक्ष अनुसन्धान हुनैपर्छ।

अझ अर्को संयोग पनि नजरअन्दाज गर्न मिल्दैन।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय मञ्चमा चीन, रूसलगायत शक्तिशाली राष्ट्रका नेतृत्वसँग प्रत्यक्ष संवाद बढाउँदै नेपालको राष्ट्रिय हित र स्वतन्त्र विदेश नीतिलाई अघि बढाइरहेका बेला देशभित्र यति ठूलो राजनीतिक विस्फोट भयो।

के यी घटनाहरू केवल संयोग थिए?

यदि बाह्य प्रभाव थिएन भने प्रमाणसहित स्पष्ट गरियोस्। थियो भने त्यसको पर्दाफास होस्।

किनकि अन्तर्राष्ट्रिय राजनीतिमा कुनै पनि देशको आन्तरिक सत्ता समीकरण शक्तिराष्ट्रका स्वार्थबाट पूर्ण रूपमा अलग हुँदैन। नेपालजस्तो संवेदनशील भूराजनीतिक स्थानमा त झन् प्रश्न उठ्नु स्वाभाविक हो।

दुःखद पक्ष के हो भने, परिवर्तनको नाममा सडकमा उत्रिएका युवामध्ये केहीले ज्यान गुमाए। तर आज उनीहरूको बलिदानको जगमा राजनीति गर्नेहरू सत्तामा छन्।

जेनजीले खोजेको परिवर्तन खोइ?

सत्ता फेरियो, अनुहार फेरिए—तर शासन गर्ने संस्कार फेरियो?

युवाले खोजेको रोजगारी, सुशासन र जवाफदेहिता आयो?

यदि आएन भने प्रश्न स्वाभाविक छ—

त्यो आन्दोलनले व्यवस्था बदल्यो कि केवल सत्ता हस्तान्तरण गर्‍यो?

शहीदको रगत कुनै नेता, दल वा शक्तिको सत्तामा पुग्ने भर्‍याङ बन्नु हुँदैन।

अब भावनाको होइन, प्रमाणको राजनीति चाहिन्छ।

भदौ २३–२४ को सम्पूर्ण घटनाको निष्पक्ष छानबिन होस्। आन्दोलन कसरी परिचालित भयो, कसले दिशा दियो र त्यसबाट वास्तविक लाभ कसले लियो—जनताले जान्न पाउनुपर्छ।

किनकि इतिहासले अन्ततः एउटै प्रश्न गर्नेछ—

“परिवर्तनका लागि ज्यान गुमाउने युवाले के पाए र उनीहरूको रगतमा टेकेर सत्तामा पुग्नेहरूले देशलाई के दिए?”

खत्री राष्ट्रिय युवा संघ नेपालका नेता हुन्। 


Published :भदौ २३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media