भाइरल’ र ‘सेलिब्रेटी’ बन्ने नाममा गति छाड्न र जिम्मेवारी बिर्सन मिल्दैन

राष्ट्रपाटी न्युज

१२ आश्विन २०७७

१. प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली नेपाली कम्युनिस्ट आन्दोलनमा संलग्न भएयता झण्डै सात दशक लामो जीवनयात्राभर जहिल्यै टुटफुटमा छरिएको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध र गतिशील बनाउन सक्रिय रहिआउनु भएको तथ्य घामजत्तिकै उज्यालो र छर्लङ्ग छ । यसमा कोही भ्रमित हुन वा अबुझ बन्न जरूरी छैन ।

२. झापा विद्रोहदेखि नै उहाँ सचेतन ढंगले कम्युनिष्ट आन्दोलनको सही विचार, एकता, राष्ट्रव्यापी पार्टी निर्माण अनि विस्तार तथा सबल राष्ट्रिय शक्ति निर्माणको स्पष्ट लक्षका साथ समर्पित र क्रियाशील रहनुभयो । त्यसै क्रममा उहाँ १४ बर्ष विभिन्न जेल र कठोर यातनागृह गोलघरमा बिताउनसमेत बाध्य हुनुभयो । यो गौरवशाली संघर्षको गाथाकै परिणाम आज उहाँ पार्टी र सरकारको नेतृत्वदायी र निर्णायक स्थानमा हुनुहुन्छ । र, जिम्मेवारी बहन गरिरहनुभएको छ ।

३. उहाँले ५५ बर्ष लामो संगठित जीवनमा कहिल्यै फुट र विभाजनको पैरवी, अगुवाई र नेतृत्व गर्नुभएको छैन । एउटा मात्रै होइन, यसखाले अनेक कर्महरूमा उहाँको कहिल्यै योगदान र अनुभवसमेत रहेको पाइँदैन ।

४. नेकपाको पछिल्लो एकता र आजको हैसियत निर्माणमा उहाँको नेतृत्व, पहल र राष्ट्रव्यापी जनपरिचालनसहित एक्लैको

७० प्रतिशत सक्रिय भूमिका र निर्णय क्षमताले काम गरेको छ । करिब दुई तिहाई बहुमतसहितको जनताको विश्वास पनि उहाँको चट्टानी अडान, उँचो स्वाभिमान र कष्टप्रद पौरखको परिणाम रहेको तथ्यप्रति सबैको हेक्का र स्मृति रहेकै हुनुपर्छ । उहाँ बनिबनाउ होइन, सेल्फमेड नेता नै हो ।

५. २००७ सालयताका कुनै सरकारले ५ बर्ष पूरै अवधि काम गर्न नपाएको विगत ७० बर्ष लामो अस्थिरताको निरन्तर दुश्चक्रलाई तोड्न तथा स्थिरताको सुनिश्चितताका साथ ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्न नै नेकपा बनेको हो । यसबाहेकका अरू कुनै खुद्रामसिना स्वार्थहरू र झिनामसिना कुरामा नेकपा र यसको सरकार किमार्थ पनि अल्मलिँदैन । सरकारले चालेका जुनसुकै कदम पार्टीको आम नीति, घोषणापत्र, एकताको भावना अनि जनता र राष्ट्रको हितमा केन्द्रित एवं गतिवान रहेका छन् । यसमा कोही भ्रमित हुन आवश्यक छैन ।

६. जसले जुन काम र क्षेत्रमा विशेष अनुभव हासिल गरेको हुन्छ, त्यही काम गर्न र सकारात्मक वा नकारातमक परिणाम हासिल गर्न खोज्ने हो । फुटाउन अनुभवीले जुटाउँदैन र जीवनभर जुटाउन योगदान गर्न लागिपरेको नेताले किमार्थ फुटाउँदैंन । टुटफुटबाहेक जीवनमा अरू केही नगरेका र १२ घाट चहारेर अहिले नेकपामा आइपुगेका कतिपय व्यक्तिहरू एउटा अध्यादेशबाटै तनावग्रस्त र भयभीत हुँदै पार्टी अध्यक्ष र प्रधानमन्त्रीविरूद्ध नै मर्यादाहीन र तथ्यहीन आरोप लगाउँदै बकवास गर्न लाजमर्दो शैलीमा उत्रिएको देख्दा तिनको राजनीतिक, वैचारिक, नैतिक र साँस्कृतिक स्तर धेरै नै टिठलाग्दो रहेको प्रष्ट भएको छ । यो पनि एक परीक्षा हो ।

७. मन्त्रिपरिषदले दुईवटा अध्यादेश जारी गर्ने सिफरिशको निर्णयसँगै नेकपाका केही स्थायी कमिटी सदस्य र कतिपय केन्द्रीय सदस्यहरूले मच्चाएको रोइलो हेर्न लायकको छ । आफू असन्तुष्ट रहेको कारण आम मानिसहरूले थाहा पाइसकेका छन् भन्ने बुझ्न स्वयंलाई कति गाह्रो परेको होला ? अझ एकजना सदस्य हरिबोल गजुरेलजीले त हिमालय टेलिभिजनमा आफ्नै बोलीमा भन्न बाँकी राख्नुभएन– ४० प्रतिशत संख्या लिएर पार्टी फुटाउन प्रधानमन्त्रीले अध्यादेश जारी गर्नुभएको हो । यस्ता बकवासहरूको पनि हद हुन्छ होला ! हाम्रो नेतृत्व तहमा नै यो तहको स्खलन र दिवालियापन छ भने समस्या कार्यकर्ता वा अन्यत्र कहीं त छैन । कमसेकम तथ्यमा पुगेर बोल्न त सक्नुपर्ने हो ।

८. नेताहरूलाई जरूरी महसुस भयो, सचिवालय बैठक केही घण्टाभित्रै अध्यक्ष तथा प्रधानमन्त्रीले अर्का अध्यक्षसँग सल्लाह गरी पार्टी महासचिवले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनुभयो र बैठक बस्यो । त्यहाँ छलफल र बहस गरेर अघि बढ्ने काम भयो । पार्टी अध्यक्ष र प्रधानमन्त्रीले स्वभाविकरूपमा पार्टी, देश र आन्दोलन तथा लोकतान्त्रिक अभ्यासको सबलीकरणकै लागि जरूरी निर्णय र कदम चाल्दै अघि बढ्नुपरेको तथ्यमा कालो पर्दा हालेर कोही कसैले भ्रममा बाँच्ने कोसिस किन गर्ने ? कतिपय मानिसहरू आफ्ना आकांक्षाको तुष्टीकरण नभएको रिस, आवेग र छटछटी यस्ता विषयमा पोख्न र आफ्नो दयनीय हालत प्रदर्शन गर्न नलागेकै उचित हुन्छ ।

९. सरकारको काम कसरी अघि बढाउने ? यो प्रधानमन्त्री र मन्त्रीहरूले राम्रोसँग जान्ने र तदनुरूप कार्यसंपादन गरेर परिणाम हासिल गर्ने बिषय हो । सके सहयोग गर्ने, नसके विरोधी वा विपक्षीलाई समेत पछि पारेर उछिन्दै फत्तुर लगाएर जगहसाइँ नगरे नै पदको मर्यादा र अनुकूल व्यवहार हुन्छ । सबैजनाले आफू कार्यकर्ता, जनता र मतदाताको निगरानीमा रहेको यथार्थलाई हेक्का राखेर सकारात्मक भूमिका खेल्नसके अनावश्यक तनाव हुँदैन र स्वास्थ्य पनि बिग्रँदैंन ।

१०. प्रधानमन्त्रीज्यूको ध्यान खाली पार्टीभित्र हावी हुन बल गर्नेतर्फ होइन किनभने उहाँ पार्टीको एक नम्बर अध्यक्ष र प्रधानमन्त्री त बहाल नै हुनुहुन्छ । यो हैसियत उहाँले आफ्नै आजीवन संघर्ष, समर्पण र पौरख गरेर हासिल गर्नुभएको यथार्थ सबैलाई अवगत हुन आवश्यक छ । पार्टी एकतालाई सम्पन्न र सुदृढ गरेर अघि बढ्ने, राष्ट्रलाई स्थिरता र सुशासन तथा समृद्धिको बाटोमा अघि बढाउने, जनतालाई सुखी, खुशी र स्वस्थ राख्ने, मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्ने र आइपर्ने जस्तासुकै संकट र समस्याको सामना गरी सफलतापूर्वक राष्ट्रको नेतृत्व गर्ने– यी निर्धारित बाहेक अन्य तपसिलका विषयमा उहाँको कुनै ध्यान र प्राथमिकता छँदै छैन । उहाँ हरेक नेता, कार्यर्ताको योग्यता, न्यायोचित व्यवहार, जिम्मेवारी, भूमिका र मर्यादाप्रति स्पष्ट नै रहनुभएको छ ।

११. अध्यादेशले नयाँ पार्टी बन्दैन, भइरहेको पार्टी चल्दैन र फुट्दैन पनि । पार्टी बन्ने र बिग्रने वा फुट्ने र समाप्त हुने यसको सिद्धान्त, विचार, नीति र व्यवहारका आधारमा हो । शोभियत क्रान्ति गरेको बोल्सेभिक पार्टी पनि अन्ततः आफ्नै गलत नीति र नेतृत्वका कारण विघटन र समाप्तजस्तै भयो । पार्टी र आन्दोलनभित्रै गोर्भाचोभ र एल्तसिनहरु जन्मिए । जसले अन्ततः शोभियत सत्ता र कम्युनिष्ट आन्दोलनलाई नै धराशायी बनायो । हामीकहाँ पुरानो पिँढी र वर्तमान नेतृत्वले नै पार्टीलाई यहाँसम्म स्थापित गरेको छ । यो सफलताको श्रेय यही पौरखी पिँढीलाई जान्छ र समस्या पनि यहीँभित्र छन् । आफ्नो सरकारलाई आफ्नो भन्न नसक्ने, आफ्नो नेतालाई नेताको स्थानमा सम्मान र मर्यादा गर्न नसक्ने, विपक्षीले भन्दा बढी सरकार र मन्त्रीहरुलाई घेराबन्दी गर्ने, सही नीति र मार्गदर्शन होइन, निन्दा र भत्र्सनामार्फत सिङ्गो आन्दोलन, नेतृत्व र जिम्मेवारहरुलाई बदनाम गर्ने, पद, पैसा र परिवारको स्वार्थमा लिप्त रहने, जनताबाट अलगथलग हुने र जनताको स्वार्थलाई बिर्सेर आफ्ना निहीत आकाङ्क्षामा केन्द्रित हुने यस्ता तौरतरिकाले न पार्टी एकतावद्ध र सुदृढ हुन्छ, न त जनता र राष्ट्रको आकाङ्क्षा पूरा गर्ने सामथ्र्य राख्छ । यतिबेला यो सबैभन्दा गम्भीर चूनौतिको विषय हो ।

१२. नेपाली कम्युनिष्ट आन्दोलन ७० वर्ष पूरा गरेर ७१औं वर्षमा प्रवेश गरेको छ । यसले फुट, विभाजन र एकताको लामो श्रृङ्खला पार गरेको छ र अनुभवी तथा परिपक्व बन्दै आजको जिम्मेवारी बहन गरिरहेको छ । दुईतिहाई बहुमतको सरकार सञ्चालन गरिरहँदा भण्डाफोरवादी प्रतिपक्षजस्तो व्यवहार यसका कतिपय नेता कार्यकर्ताहरुलाई शोभनीय हुन सक्दैन । साथै ‘भाइरल’ र ‘सेलिब्रेटी’ बन्ने नाममा गति छाड्न र जिम्मेवारी बिर्सन मिल्दैन । जनताले दिएको जिम्मेवारी बहन गर्नु, योग्यता प्रदर्शन गर्नु र सफल हुनु यतिबेलाको यसको प्रमुख दायित्व हो । को कति भूमिगत बस्यो वा कति वर्षदेखि नेतृत्वमा रहिआएको छ भन्ने आधारमा होइन, सही विचार, सिद्धान्त र नीतिहरुको निरुपण र अभ्यास एवम् आमूल परिवर्तनको प्रक्रियामा गरेको योगदानका आधारमा मूलतः जनमुखी व्यवहारमा नै आज पार्टी, आन्दोलन र नेतृत्वको मूल्याङ्कन हुन्छ, गरिनुपर्छ र आन्दोलनको भविष्य सुनिश्चित गर्दै अघि बढ्नुपर्छ । ससाना, झिनामसिना र मनोगत आग्रहमा रुमल्लिएर न जनताको विश्वास जित्न सकिन्छ न जनताले प्रदान गरेको जिम्मेवारी पूरा गर्न सकिन्छ । यसको हेक्का राखेर नै आन्दोलनमा सबैले सकारात्मक भूमिका निर्वाह गर्न ध्यान दिनुपर्दछ ।

(लेखकः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाश विभागको उपप्रमुख हुनुहुन्छ ।)


Published :१२ आश्विन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media