सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई साबिकमै फर्कायो

राष्ट्रपाटी न्युज

२४ फाल्गुन २०७७

काठमाडौं– सर्वोच्च अदालतले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साबिककै अवस्थामा फर्काइदिएको छ ।
नेकपाका संयोजक ऋषि कट्टेलद्वारा दुई वर्षअगाडि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दामा आइतबार न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकरण बदर गरिएको छ ।

‘निर्वाचन आयोगका यी दुवै निर्णय बदर भए पश्चात साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा,’ फैसलामा भनिएको छ, ‘अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नु गराउनु ।’

तत्कालिन एमाले र माओवादी केन्द्रबीच २०७५ साल जेठ ३ गते पार्टी एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो ।


Published :२४ फाल्गुन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media