अमेरिका र इरानबीचको १४ बुँदे शान्ति सम्झौता सार्वजनिक

काठमाडाैं । अमेरिका र इरानबीच हुन लागेको भनिएको शान्ति सम्झौताको १४ बुँदे समझदारी पत्रको मस्यौदा सार्वजनिक भएको छ। इरानको अर्ध–सरकारी सञ्चारमाध्यम मेहर न्युज एजेन्सीले सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक गरेको हो। यद्यपि, सार्वजनिक भएका यी बुँदाहरूलाई दुवै देशले आधिकारिक रूपमा पुष्टि गरेका छैनन्।

सार्वजनिक मस्यौदाअनुसार अमेरिका र इरानबीच लेबनानसहित सबै सैन्य मोर्चामा स्थायी युद्धविराम लागू गर्ने प्रस्ताव गरिएको छ। साथै, अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र इरानमा रहेका आफ्ना सैनिक फिर्ता लैजाने प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ।

मस्यौदामा अमेरिकाले ३० दिनभित्र इरानमाथि लगाइएको नौसैनिक नाकाबन्दी हटाउने तथा हर्मुज क्षेत्रलाई पुनः इरानी व्यवस्थापनमा सञ्चालन गर्न दिने व्यवस्था समावेश गरिएको बताइएको छ।

त्यसैगरी, युद्धबाट प्रभावित इरानको पुनर्निर्माणका लागि अमेरिका र उसका सहयोगी राष्ट्रहरूले कम्तीमा ३०० अर्ब अमेरिकी डलर बराबरको सहायता योजना उपलब्ध गराउने प्रस्ताव पनि मस्यौदामा राखिएको छ।

ऊर्जा क्षेत्रमा लगाइएका प्रतिबन्ध हटाउने, इरानी तेल निर्यातमा लगाइएका अवरोध अन्त्य गर्ने तथा अमेरिकाले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप विस्तार नगर्ने र नयाँ प्रतिबन्ध नलगाउने विषय पनि समझदारी पत्रमा समेटिएको जनाइएको छ। आणविक कार्यक्रमका सन्दर्भमा भने इरानले आफू आणविक हतियार निर्माण नगर्ने पुरानै प्रतिबद्धतामा कायम रहने उल्लेख गरिएको छ।

यसैबीच, बिबिसीले मेहर न्युज एजेन्सीलाई उद्धृत गर्दै जनाएअनुसार इरानले अन्तिम चरणको वार्ताअघि केही पूर्वसर्त अघि सारेको छ। इरानले अमेरिकाद्वारा रोक्का गरिएको आफ्नो सम्पत्तिको आधा हिस्सा फुकुवा हुनुपर्ने, तेलमाथिका प्रतिबन्ध स्थगित गर्नुपर्ने र नौसैनिक नाकाबन्दी पूर्ण रूपमा हटाउनुपर्ने माग गरेको बताइएको छ। यी सर्त पूरा नभएसम्म अन्तिम वार्ता सुरु नहुने अडान इरानले लिएको समाचारमा उल्लेख छ।

मस्यौदाअनुसार अमेरिका र इरानबीच हुने अन्तिम शान्ति सम्झौतालाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्बाट प्रस्ताव पारित गरी अन्तर्राष्ट्रिय मान्यता दिने तयारीसमेत गरिएको बताइएको छ।


Published :असार १, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media