एमालेमा १९ जनाको स्थायी कमिटी गठन, नेपाल समूह समेटिएन

राष्ट्रपाटी न्युज

१० बैशाख २०७८

काठमाडौं– नेकपा एमालेको आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले स्थायी कमिटीमा हेरफेर गरेको छ ।

बैठकले तत्कालका लागि १९ जनालाई स्थायी कमिटी सदस्य कायम गरेको छ । पार्टीविरोधी गतिविधिमा संलग्न थप नेतालाई सोधिएको स्पष्टीकरण र प्राप्त जवाफबारे पनि बैठकमा छलफल भएको थियो ।
प्रतिनिधिसभामा रहेका २७ नेतामाथि सोधिएको स्पष्टीकरणबारे अध्ययन गरी निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको छ । यसअघि निलम्बन गरिएका नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतलाई स्थायी कमिटीको सूचीबाट हटाइएको तथा नेकपा माओवादी केन्द्रबाट प्रवेश गरेका रामबहादुर थापालगायतलाई समावेश गरिएको छ । समानान्तर गतिविधिमा रहेका नेताहरु फर्किएमा जिम्मेवारी दिइने भएको छ ।

बैठकले केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन पनि गरेको छ । अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमाथि प्राप्त सुझाव समावेश गरी एकीकृत रुप दिइएको छ । बैठकले समसामयिक विषयमा ११ बुँदे प्रस्ताव पारित गरेको छ । पार्टीमा समानान्तर गतिविधि रोकेर पार्टी एकताको मूल प्रवाहमा फर्कन आग्रह गर्दै जनप्रतिनिधिलाई उम्मेदारी दिने पार्टी र आफूलाई मत दिने जनताको सम्मान गर्न आग्रह गरेको छ ।
मूल प्रवाहमा फर्कने नेता–कार्यकर्तालाई सम्मानका साथ उचित जिम्मेवारी दिइने प्रवक्ता ज्ञवालीले जानकारी दिए । अध्यक्ष ओली र नेता नेपालसँगको पछिल्लो वार्ताबारे सोधिएका प्रश्नमा नेता ज्ञवालीले अध्यक्षका तर्फबाट पहल जारी रहेको र अर्का पक्षबाट पनि त्यस्तै सकारात्मक र एकताको पहलको अपेक्षा गरिएको बताए ।

बैठकले कोभिड – १९ को रोकथाममा जुट्न सबैमा तथा उपनिर्वाचनको तयारीका लागि तयार रहन कार्यकर्तालाई आग्रह गरेको छ । बैठकले सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँगको सहमतिलाई स्वागत गर्दै शान्ति र विकासतर्फको यात्रा आरम्भका लागि नेपाल सरकारलाई धन्यवाद पनि दिइएको छ ।।
बैठकले कर्णाली प्रदेशसभामा पार्टीको ह्विप उल्लङ्घन गरी नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने ४ जना प्रदेशसभा सदस्यलाई पार्टी सदस्य र प्रदेशसभा सदस्य नरहने गरी कारवाही गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभासद् प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निष्काशन गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।


Published :१० बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media