ओली सरकार ढाल्न माधव नेपाल सक्रिय,प्रचण्ड र उपेन्द्र संग गोप्य साठगांठ

राष्ट्रपाटी न्युज

२२ बैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । यो गठबन्धनमा एमालेको माधव नेपाल पक्ष पनि समेटिएको छ ।
मंगलवार देउवासहित छलफल गरेका नेताहरु बुधवार विहान जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसंग छलफल गरेका छन् ।
जसपाको एउटा पक्षले उपेन्द्रहरुलाई नै कारवाहीको तयारी गरेपछि एमालेबाट कारवाहीमै परेका माधव नेपाल सहित प्रचण्डले छलफल गरेका हुन् ।

हात्तीवनस्थित निजि निवासमा यादवसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल छलफलका लागि जुटेको बताइएको छ ।
तीन नेताबीच एमाले र जसपाको आन्तरिक समीकरणकै विषयमा केन्द्रित रहेर छलफल भएको यादवनिकट स्रोतले बताएको छ । एमालेका कति सांसदले राजीनामा दिने र जसपाका कति सांसदलाई बाबुराम-उपेन्द्रको पक्षमा राख्न सकिन्छ भन्ने विषय केन्द्रित छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत लिनबाट असफल बनाउने र उनकै नेतृत्वमा चुनाव हुने संख्या नपुग्नेगरि राजिनामाको विषय छलफलमा रहेको छ । त्यस्तै जसपाको महन्थ ठाकुर पक्षलाई पार्टी र संसदीय दल दुवैतिर अल्पमतमा पार्ने उपायबारे समेत छलफल भएको छ ।
यसअघि हिजो साँझ महाराजगञ्जस्थित प्रमोद राणाको घरमा यी तीन नेता र कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गरेका थिए ।
प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिन संसद बैठक तय भएपछि त्यसलाई असफल बनाउन ओलीइतरका नेताहरूले भेटघाट र छलफललाई तीव्र बनाएका छन् ।

(स्रोत: nepalpress.com)


Published :२२ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media