
काठमाडौं । मध्यपूर्वको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण होर्मुज जलघाँटीमा तनाव थप चुलिएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले अनधिकृत मार्ग प्रयोग गरेर जलघाँटी पार गर्न खोजेको एक जहाजमाथि चेतावनीस्वरूप गोली चलाएको दाबी गर्दै जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको घोषणा गरेको छ ।
आइतबार स्थानीय समयअनुसार जारी गरिएको आईआरजीसीको नौसैनिक शाखाको विज्ञप्तिमा केही जहाजहरूले तोकिएको मार्गविपरीत जलघाँटी पार गर्ने प्रयास गरेको उल्लेख गरिएको छ । तीमध्ये एक जहाजलाई रोक्न चेतावनीस्वरूप गोली चलाइएको आईआरजीसीले जनाएको छ ।
आईआरजीसीसँग निकट मानिने अर्धसरकारी तस्निम समाचार एजेन्सीको अरबी संस्करणले सार्वजनिक गरेको विज्ञप्तिमा विदेशी शक्तिको हस्तक्षेपका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको आरोप पनि लगाइएको छ ।
आईआरजीसीले अमेरिकालाई संकेत गर्दै बाह्य हस्तक्षेप समाप्त नभएसम्म होर्मुज जलघाँटी सञ्चालनमा नआउने स्पष्ट पारेको छ । विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्म कुनै पनि व्यापारिक वा सैन्य जहाजलाई उक्त जलमार्ग प्रयोग गर्न अनुमति नदिइने उल्लेख छ ।
विश्वको सबैभन्दा व्यस्त ऊर्जा आपूर्ति मार्गमध्ये एक मानिने होर्मुज जलघाँटी बन्द गर्ने घोषणाले अन्तर्राष्ट्रिय तेल बजार र विश्वव्यापी समुद्री व्यापारमा असर पर्ने अनुमान गरिएको छ । यद्यपि, उक्त घोषणापछि जलमार्गको वास्तविक सञ्चालन अवस्था र अन्तर्राष्ट्रिय प्रतिक्रिया भने अझ स्पष्ट भइसकेको छैन ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिका र इरानबीच युद्धविरामसम्बन्धी वार्ता जारी रहने संकेत दिएका थिए । उनले युद्धविराम कायम राख्ने प्रयास भइरहे पनि आवश्यक परे इरानमाथिको अमेरिकी सैन्य कारबाहीसँगै कूटनीतिक संवाद पनि निरन्तर अघि बढ्न सक्ने बताएका थिए ।
होर्मुज जलघाँटीको पछिल्लो घटनाक्रमले अमेरिका–इरान सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको छ भने अन्तर्राष्ट्रिय समुदायले अवस्थाको नजिकबाट निगरानी गरिरहेको छ ।