केपी वलीको फोन माधव नेपालले उठाएनन

राष्ट्रपाटी न्युज

बैशाख २९, २०७८

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षलाई राजीनामाबाट रोक्न अन्तिम प्रयास भइरहेको छ । राष्ट्रपतिले दिएको नयाँ सरकार गठनको समयसीमा आज साँझ ९ बजेसम्म सकिनुअघि नेपाल पक्षलाई राजीनामा गराउने प्रयास कांग्रेस र माओवादीको छ ।

राजीनामाबारे माधव नेपाल पक्षमै मतभेद भएर संख्या जुटाउन सकस परिरहेका बेला संस्थापन पक्षले संवाद जारी राखेको छ । बुधवार माधव नेपाललाई गोकर्ण विष्ट लगायत उनी निकटकै नेताले राजीनामाबाट पछि हट्न दबाब दिएका दिए ।

नेपाललाई बुधवार राति अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले टेलिफोनमा कुरा गर्न खोजे पनि माधव नेपालले फोन रिसिभ नगरेको स्रोतले जनाएको छ। आज विहानै ओलीको तर्फबाट वार्ता गर्न अर्थमन्त्री बिष्णु पौडेल माधव नेपाल निवास पुगेका छन् ।
माधव नेपाल पक्षमा राजीनामा दिने सांसदको संख्या अन्तिममा १६ जना पनि नपुग्ने अवस्था देखिएपछि उनी दवावमा छन् । बिष्णु पौडेलसँगको वार्ताअघि बुधवार साँझ ओली निकट एक प्रभावशाली नेताले पनि नेपाल निवासमै गएर वार्ता गरेका थिए । उक्त वार्तापछि नेपाल गम्भीर बनेको बताइन्छ ।

यसैबीच अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक विहान ९ बजे बोलाएका छन् । बालुवाटारमा बस्ने सो बैठकले माधव नेपाल पक्षका माग सम्बोधन गर्ने सबै अधिकार ओलीलाई दिने सम्भावना छ ।

आजै स्थायी कमिटी बैठकपछि ओलीले नेपालसँग वार्ता गर्ने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ । माधव नेपाल पक्षले राजीनामा गरे पनि ओलीको विपक्षमा बहुमत नपुग्ने अवस्था र अन्य अड्चन समेत देखिने भएपछि राजीनामाको विषय नेपाल पक्षमै घाँडो बनेको छ
स्रोत :- nepalpres.com


Published :बैशाख २९, २०७८


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media