तीनपटक प्रधानमन्त्री बन्ने वली पहिलो कम्युनिष्ट प्रधानमन्त्री

राष्ट्रपाटी न्युज

३१ बैशाख २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेका थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको नेकपा एमाले संसदीय दलका नेता ओलीलाई बिहीबार राति प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । संविधानको धारा १०० को उपधारा १ अनुसार प्रतिनिधि सभामा विश्वासको मतका लागि गत वैशाख २७ गते राखेको प्रस्ताव पारित हुन नसकेपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका थिए ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई तीन दिनभित्र दिएको समयसीमामा कसैको पनि दाबी नपरेपछि प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेता ओली प्रधानमन्त्री भएका हुन् ।

नवनियुक्त प्रधानमन्त्री ओलीले संविधानअनुसार एक महिनाभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

२०७४ सालमा भएको प्रतिनिधि सभामा सबैभन्दा ठूलो पार्टी भएको एमाले संसदीय दलको नेता ओली २०७४ साल फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए । ओली तीन कार्यकाल प्रधानमन्त्री हुने पहिलो वामपन्थी नेता भएका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुई पटक प्रधानमन्त्री भएका थिए ।

ओली संविधानसभाबाट संविधान जारी भएपछि पहिलोपटक २०७२ साल असोज २५ गते प्रधानमन्त्री भएका थिए ।

२०६४ मा भएको पहिलो संविधानसभा बाहेक २०४८ पछिका सबै निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका ओली २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारको गृहमन्त्री भएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो सरकारमा उपप्रधान र परराष्ट्रमन्त्री भएका थिए ।


Published :३१ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media