प्रधानमन्त्रीको पनि दाबी आएको छ, मैले बुझ्छु। – राष्ट्रपति

काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका छन्।
राष्ट्रपतिले प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको बहुमतसहित दावी पेश गर्न दिएको समयभित्र ओली र देउवाले आ-आफ्नो बहुमत रहेको भन्दै दाबी पेश गरेका हुन् ।

साँझ ५ बजेभित्र दाबी पेश गर्न भनिएकोमा ओली साढे ४ बजे नै बहुमत दाबी गरेर शीतल निवासबाट बाहिरिएका थिए भने देउवा पौने पाँच बजे दाबी पेश गरेर बाहिरिएका हुन् ।
ओलीले नेकपा एमाले र जसपाका १५३ जना सांसदको समर्थन रहेको दाबी गरेका छन् । उनलाई जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले पार्टीको समर्थन रहेको लिखित पत्र दिएका छन् ।

त्यस्तै देउवाले कांग्रेस,माओवादी,जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका माधव नेपाल पक्षको समर्थनमा १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।

“प्रधानमन्त्रीले पनि यसअघि हस्ताक्षर बुझाएर गइसक्नुभएको छ,” राष्ट्रपतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “तपाईंको पनि दाबी आयो । मैले बुझ्छु ।”

 


Published :७ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media