एमालेबाट नेपाल र खनालसहित ११ सांसद निश्कासित ! नयाँ पार्टी घोषणा हुने।

राष्ट्रपाटी न्युज

१० जेष्ठ २०७८

काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।


बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ,माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले नेपाल प्रेसलाई जानकारी दिए । निष्कासनमा पर्नेमा समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री,मुकुन्द न्यौपाने,कलिला खातुन,सरला यादव, निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ,लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्का समेत छन् ।
यसैबीच विपक्षी गठबन्धनमा लागेर आफ्नो सरकार ढाल्न अग्रसर भएका नेताहरुलाई निष्कासन र कारवाहीको निर्णयसँगै नेकपा एमाले विभाजनको औपचारिक घोषणामात्र बाँकी रहेको छ ।
नेकपा एमालेबाट फुटेर अलग पार्टी गठन गर्नेबारे माधव नेपाल समूहमा छलफल चलिरहेको छ । नेपाल समूहका नेता झलनाथ खनालले आन्तरिक छलफलपछि नयाँ पार्टी घोषणा हुने बताएका छन् ।

एमाले एकताका लागि वार्ता टोली गठन भएर छलफल चलिरहेकै बेला माधव नेपाल र झलनाथ खनालसहित २६ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर शीतल निवास गएपछि पार्टी विभाजन भइसकेको थियो ।
यसबीचमा सर्वोच्च अदालतमा देउवाका पक्षमा परमादेश माग्ने रिटमा हस्ताक्षर गर्नुअघि पनि दुवै वार्ता टोलीका नेताहरुबीच आइतबार राति वार्ता भएको थियो । तर सोमबार बिहानै हस्ताक्षर शुरु भएपछि वार्ता टोली पनि स्वतः भंग भएको छ ।

यसबीचमा भएका वार्ता प्रयासहरुको प्रगति भइरहेकै बेला आफ्नै पार्टीको सरकार ढाल्न एमालेका सांसदको हस्ताक्षर प्रयोग भएपछि एकताको औचित्य सकिएको नेताहरुले बताएका छन् ।

योगेश भट्टराई, गोकर्ण विष्ट, गणेश पहाडी लगायतका माधव नेपाल पक्षधर नेताहरु अझै पनि एकताको प्रयास गर्ने भन्दै हस्ताक्षर नगरी बसेका थिए । अब उनीहरुको भूमिका के हुन्छ भन्ने प्रष्ट भइसकेको छैन ।

माधव नेपालले भने पार्टी दर्ताका लागि एक महिनाअघिनै आफू निकट कार्यकर्ताहरुलाई लगाइसकेका थिए । जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता भएको छ ।

झलनाथ खनाल निकट कार्यकर्ताहरुले नेकपा एमाले (क्रान्तिकारी) दर्ताका लागि निवेदन दिएका छन् भने नेकपा समाजवादी पार्टी पनि दर्ताको लागि निवेदन परेको छ ।

आन्तरिक छलफलपछि पार्टीको नयाँ नाम तय हुने खनालले बताए । नयाँ पार्टीको अध्यक्ष माधवकमुार नेपाल नै हुनेछन् भने महासचिवमा भीम रावल वा सुरेन्द्र पाण्डेमध्ये एक हुने बताइएको छ ।

एमालेले खनाल नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य, जनप्रतिनिधित्व लगायत पार्टी आबद्ध सबै संघ संस्थाको जिम्मेवारी समेत मुक्त हुने गरि कारवाही गरेको छ ।

अब स्पष्टीकरण सोधिएका १२ जनाले पनि चित्तबुझ्दो जवाफ नदिए निष्कासन गरिने एमालेले जनाएको छ । यो विभाजन प्रक्रियासँगै यसको असर प्रदेश सरकारहरुमा समेत पर्नेछ ।


Published :१० जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media