राष्ट्रपतिद्वारा भारत र चीनका राष्ट्रपतिसँग संवाद,चीनले १० लाख डोज खोप दिने

राष्ट्रपाटी न्युज

१२ जेष्ठ २०७८

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्द र चिनियाँ समकक्षी सी जिनपिङसँग कोरोनाविरूद्धको खोप उपलब्ध गराइदिन पहल गरिदिनको लागि अनुरोध गरेकी छन् ।

भण्डारीले नेपालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि चीन सरकारले सहयोग गरेकोमा धन्यवाद दिँदै नेपाललाई थप खोप आवश्यक रहेकोले खरिदका लागि सहजीकरण गरिदिन चिनियाँ समकक्षी सी जिनपिङसँग आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार भण्डारी र सी बीच बुधबार दिउँसो करिब ४० मिनेट कुरा भएको थियो ।

राष्ट्रपति भण्डारीले भारतीय समकक्षीलाई कूटनीतिक माध्यमबाट पत्राचार गर्दै खोप उपलब्ध गराउन पहलका लागि आग्रह गरेको राष्ट्रपतिका सञ्चार विज्ञ ढकालले जानकारी दिए । आफ्नो पत्रमा राष्ट्रपति भण्डारीले भारतले यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवाद दिएकि छन् ।

भारतले यसअघि १० लाख डोज खोप अनुदान दिएको थियो भने चीनले ८ लाख डोज अनुदान दिएको थियो । भारतसँग नेपालले २० लाख डोज खोप किन्नका लागि सम्झौता गरेकोमा १० लाख खोप मात्रै आएको छ ।

यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिनले नेपाललाई थप १० लाख डोज खोप अनुदान सहयोग दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सीले उक्त प्रतिबद्धता जनाएको नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले ट्वीट गर्दै जानकारी दिएकि छन् ।

चीनले यसअघि नेपाललाई ८ लाख डोज खोप अनुदानमै दिएको थियो ।


Published :१२ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media