तरबारको धारमा यज्ञराजको राजनीतिक भविष्य

राष्ट्रपाटी न्युज

१९ जेष्ठ २०७८
  • सन्तोष लुइटेल

विषय प्रवेश
२०२९ साल कार्तिक ३ गते बुबा मानबहादुर सुनुवार र आमा मनमाया सुनुवारको कोखबाट ओखलढुंगामा यज्ञराज सुनुवारको जन्म भएको हो। २०४४/४५ सालमा ओखलढुंगाको बरुणेश्वर मावि रामपुरबाट एसएलसी उतिर्ण गरेका उनि कक्षा ८ मा पढ्दा नै जुनिएर रेडक्रस सर्कलको अध्यक्षमा निर्बाचित भएका थिए । २०४७ सालमा उच्च शिक्षाको लागि आरआर क्याम्पसमा भर्ना भएपछि २०४९ सालमा भएको स्वतन्त्र विधार्थी युनियनको निर्बाचनबाट उनि स्ववियु सदस्यमा निर्बाचित भए पश्चात २०५१ मा स्ववियु सचिव तथा २०५३ मा स्वबियु सभापति बन्न सफल भएका थिए ।
त्यसपछी महेन्द्ररत्न क्याम्पस ताहाचलमा २०५७ सालको स्ववियु निर्बाचनमा सभापतिमा निर्बाचित भएपछी उनि स्ववियु काउन्सिल संयोजक एबम २०५७ देखि ६० सम्म त्रि वि सभासद बनेर छोटो समयमा नै बिधार्थी राजनीतिमा सफलताको शिखरमा पुगेका थिए। त्यसै गरि संगठनात्मक रुपमा अनेरास्ववियुको आरआर क्याम्पसको प्राक सदस्य देखि अनेरास्ववियुको केन्द्रिय सचिवसम्म बन्न सफल उनि अध्यक्षमा भने ठाकुर गैरे संग पराजित भएका थिए।
पार्टी राजनीतिमा प्रवेश
अनेरास्ववियुको अध्यक्षमा पराजित भएपछी २०६३ बाट सगरमाथा अञ्चल समन्वय कमिटि सदस्य हुदै उनि पार्टी राजनीतिमा प्रवेश गरेका थिए। त्यसैगरी २०६४ मा नेकपा एमालेको तर्फबाट ओखलढुंगा क्षेत्र नं १ बाट संबिधानसभा सदस्यमा उमेद्वार भै तत्कालिन माओबादी उमेद्वार संग पराजित भएका थिए ।
२०७० सालमा भएको संबिधानसभाको दोस्रो निर्बाचनबाट संबिधानसभा सदस्यमा नेपाली कांग्रेसका बालकृष्ण दाहाललाइ पराजित गरि उनि निर्बाचित भएका थिए । नेपालमा नयाँ संबिधान लागु भएपछी फेरी २०७४ सालमा पुरै जिल्ला नै एउटा निर्बाचन क्षेत्र भएको बेला उनि पुन नेपाली कांग्रेसका रामहरि खतिवडालाइ पराजित गरि प्रतिनिधिसभा सदस्यको लागि चयन भए।
अखिल अध्यक्षमा उमेद्वारी
तत्कालिन अबस्थामा नेकपा एमालेमा महासचिव माधब नेपालको नेतृत्व रहेको बेला केपी वली र माधव नेपाल रहेको पार्टी संस्थापन पक्षको तर्फबाट उनि अनेरास्ववियुको अध्यक्षको उमेद्वार बनेका थिए। खास गरि भानुभक्त ढकालको बिशेष भूमिकामा उमेद्वार बनेपनि ठाकुर गैरे संग पराजित भएका थिए। तत्कालिन अबस्थामा केपी वलीलाइ पार्टीको एक तप्काले भारत निकट नेताको रुपमा बुझ्दै आएको र अखिलको राजनीतिमा सक्रिय स्वयम् यज्ञराजले पनि यो कुरा भन्ने गरेको अखिलका एक पुर्व नेता बताउछन् ।
ओखलढुंगामा यज्ञराज
अनेरास्ववियुको अध्यक्षमा पराजित भएपछी २०६३ बाट सगरमाथा अञ्चल समन्वय कमिटि सदस्य हुँदै २०६४ मा नेकपा एमालेको तर्फबाट ओखलढुंगा क्षेत्र नं १ बाट संबिधानसभा सदस्यमा उमेद्वार बनेका उनि तत्कालिन अबस्थामा माओबादीका उमेद्वार संग पराजित भएपछी माओबादी संग एमालेको दुरी व्यापक रुपमा बढ्न गयो। तत्कालिन अबस्थामा माओबादीको माधब नेपाल सरकार बिरुद्दको छ दिने आन्दोलनको क्रममा एमालेले ओखलढुंगा लगायत देशभर प्रतिवाद गर्यो। त्यस क्रममा केहि माओबादीहरु घाइते समेत भए। त्यसपछि माओबादीको एक झुण्डले एमालेका लोकप्रिय नेता छबि कार्कीको क्रुर हत्या गर्यो। तत्कालिन अबस्थामा माओबादीहरुको आततायी व्यबहार विरुद्द जिल्लाभरि प्रतिबाद गर्ने एमाले पार्टीको नेतृत्व उनैले लिएका थिए।
ओखलढुंगामा एमालेको विजय
संबिधानसभाको दोस्रो निर्बाचनमा ओखलढुंगा जिल्ला क्षेत्र नं १ बाट बिजयी भएपछी उनको राजनीति उचाइ बढेर गयो। बिधार्थी राजनीतिबाट आएको युवा नेतृत्व पाएपछि जिल्लामा छुट्टै व्याक्तित्व बनाउन सफल भए उनि। राजधानीबाट दुरीको हिसाबले धेरै टाढा नभएपनि पुर्बको कर्णालीको रुपमा चिनिएको जिल्लामा केन्द्रमा पहुँच राख्ने नेतृत्व पाएपछि आमपार्टी कार्यकर्ता तथा जिल्लाबासिमा खुसियाली छाउनु स्वाबाभिक नै थियो।

२०७० मा इश्वर पोख्रेललाइ ओखलढुंगा लाने प्रयास
ओखलढुंगा जिल्लामा जन्मिएका एमाले महासचिव इश्वर पोख्रेल लाइ १ नं क्षेत्रमा चुनाव लडाउने प्रयास स्वरूप केहि जिल्ला नेताहरु त्यो बेला लागिपरेका थिए। यज्ञराज इतरका नेताहरु उनले टिकट पनि नपाउने र ठुलो नेता पनि भित्राउन पाउने योजनाका साथ लागे पनि स्वयम इश्वर पोख्रेल हारिने डरले नगएको एक पुर्ब जिल्ला नेताले त्यसबेला बताएका थिए। २०७४ को निर्बाचनमा भने दुइवटा प्रदेश क्षेत्र र एउटा संघीय निर्बाचन क्षेत्र भएपछी उनि पार्टी भित्र निर्बिरोध उमेद्वार जस्तै बनेका थिए।
सायद यज्ञराजले कहिल्यै नभुल्ने त्यो मोबाइल स्विचअफ
२०७० सालको निर्बाचन पछि एमाले संसदीय दलको निर्बाचन हुने भयो। तत्कालिन एमाले अध्यक्ष झलनाथ खनाल र नेता के पी वलीबीच हुने प्रतिष्पर्धामा साम्सदहरुले एकजनालाई भोट दिनुपर्ने परिश्थिति आयो। त्यसबेला माधब नेपाल भने न्युट्रल जस्तै थिए। सिंहदरबारमा यज्ञराज खोटांगका साम्सद बिशाल भट्टराई संगै थिए। उनीहरुबीच तत्काल मोबाइल स्विचअफ गर्ने र संसदीय दलको निर्बाचनमा वलीलाइ भोट नदिने सहमति भयो। त्यसपछि उनले मोबाइल खोल्दा पनि खोलेनन् र खनाललाइ भोट दिए, तर भट्टराईले बिचमै मोबाइल खोले र ओलीलाइ भोट दिए। यो कुराको छनक पाएका केपी वलीले उनलाई कहिल्यै मन्त्रि बनाएनन् र बरु बिशाल भट्टराईलाइ हालै संसदीय दलको प्रमुख सचेतक बनाए। २०७४ सालको निर्बाचनमा जिल्ला सदरमुकाममा उनलाई मन्त्रि बनाउछु भनेर बोलेर आएका माधब नेपालले समेत मन्त्री बनाउन उनलाई कहिल्यै प्राथमिकतामा राखेको पाइएन। व्याक्तिगत रुपमा वलीसंग सहज सम्बन्ध बनाउन उनले पटक पटक प्रयास गरेपनि उनि हालसम्म मन्त्रि बनेका छैनन।
इश्वर पोख्रेलसंग दुरी
ओखलढुंगामा यज्ञराज इतरका केहि नेताहरु संग नेता इश्वर पोख्रेलको निकटता बढ्नु स्वाभाविक नै थियो। जिल्लाका महत्वपूर्ण कार्यक्रमहरुमा प्राय पोख्रेलनै उपस्थित हुने हुनाले पनि धेरै नेताको हिमचिम बढ्दै गयो। गुट र अन्य बिबिध कारणले यज्ञराजसंग पोखरेलको दुरी बढ्दै गएको सहज अनुमान गर्न सकिन्थ्यो। यो कारणले पनि उनि मन्त्रि बन्न नसकेको अनुमान गर्न सकिन्छ।
भृकुटीमण्डपमा सम्पन्न नेकपा एमालेको नबौं महाधिबेशनमा एउटा रमाइलो घटना भयो। समुहगत छलफलमा माथिल्लो सगरमाथा समुहको टोलि नेता यज्ञराज बने तर ओखलढुंगाका यज्ञराज इतरका नेताहरु सहितले बिरोध गरेपछि बिशाल भट्टराई पनि टोलि नेता बने। तर प्रस्तुति गर्ने जिम्बेबारी भने अरुले नै प्राप्त गरे। यो अबस्था सिर्जना हुने कारण पनि पोख्रेल संगको दुरी नै हो भन्ने अनुमान गर्न सकिन्छ। यो बेला सम्म उनि खासै कुनै गुटको बनेर स्पस्ट नखुलेपनि त्यसपछी भने स्पस्ट रुपमा माधव नेपाल कित्तामा लागेको र केन्द्रिय सदस्य बनेको एक जना नेपाल समुहका नेता बताउँछन्।
पार्टी एकता पछि माओवादीहरुसंग अप्रत्यासित हेलमेल
ओखलढुंगामा शिक्षक गुरु प्रसाद लुइटेल र नेता छबि कार्कीको क्रुर हत्या पछि माओबादीहरु संग एमालेको कटुता पूर्ण सम्बन्ध रहेको थियो। ‘कुकुरले हड्डी छोड्ला तर गुरु लुइटेलका हत्यारालाई एमालेले छोडदैन’ भन्ने घोषणा गरेका उनलाई सायद आफ्नै पार्टी एमालेका अर्को गुटका नेता भन्दा माओबादीहरु संग हिमचिम गर्न सजिलो भयो। व्यक्ति हत्यामा संलग्न अदालतमा मुद्दा चलिरहेका व्याक्तिहरुसंग उनको राजनीतिक तथा व्याक्तिगत सम्बन्ध बढेर गयो। तर जब अदालतले एमाले र माओबादी अलग गरिदियो, त्यसपछि उनि संगै देखापर्ने कतिपय माओबादीहरु ओली नेतृत्वको एमालेमा प्रवेश गरिसकेका छन्।
पछिल्लो राजनीतिक गतिविधिमा यज्ञराज
एमाले पार्टीको आन्तरिक राजनीतिको बिषयमा अन्तरबार्ताहरुमा तुलनात्मक रुपमा शालीन रुपमा प्रस्तुत भएपनि उनले माधव नेपाललाई अविचलित रुपमा साथ दिंदै आएका छन्। वलीलाई विश्वासको मत दिने दिनमा संसदमा अनुपस्थित हुने , नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने तथा अदालतमा मुद्दा हाल्न हस्ताक्षर गर्ने काममा साथ दिएको देखिन्छ।
अव के होला यज्ञराजको राजनीति ?
यदी अदालतबाट संसद पुन: स्थापना भएर नेपाली कांग्रेस ,माओबादी ,उपेन्द्र जसपा र माधव नेपाल बिचको गठबन्धन सरकार बनेमा माधब नेपालको बचन अनुसार उनि मन्त्री बन्न सक्ने सम्भावना छ। सम्सद पुन: स्थापना भएपनि पार्टीको कारबाही पछि उनको साम्सद पद त्यसै पनि जाने नै छ। अदालतले अहिलेको परिस्थितिलाई नै सदर गरेमा उनि एमाले पार्टीको कारबाहीमा परिसकेका छन् भने माधब नेपालले दर्ता गर्ने नयाँ पार्टीको नेता हुने छन्। ओखलढुंगामा तिन पटक एमालेको तर्फबाट टिकट पाइसकेका उनले नयाँ पार्टीबाट एक्लै चुनाब जित्ने कुनै सम्भावना छैन। माओबादी र माधब नेपाल पक्ष बीच मात्र हुने एकताले ओखलढुंगामा एमाले र कांग्रेसलाई कुनै असर पर्ने देखिदैन। यदि माओबादी र कांग्रेस सहितको गठबन्धन केन्द्रिय रुपमा नै बन्यो भने र ओखलढुंगामा कांग्रेसले छोडेर उनले टिकट पाए भने चाहि उनि पुन: प्रत्यक्ष निर्बाचित साम्सद बन्ने सम्भावना जीवित रहने छ। नत्र समानुपातिक सिटमा सुरक्षित रहने विकल्प पनि छँदै नै छ।
तर एमाले विभाजन भएन भने पुन: उनि सशक्त उमेद्वार त छँदै नै छन् तर उनले पछिल्लो समयमा कार्यकर्ता तहमा नै बिग्रिएको संस्थापन पक्षसंगको सम्बन्ध सुधार गर्नुपर्ने देखिन्छ भने पार्टी अध्यक्ष वली र नेता पोख्रेलको आफु प्रतिको मनोविज्ञानलाइ अनुकुल बनाउन प्रयास गर्दै जिल्लाका अन्य नेताहरुसंग सम्बन्ध सुधार गर्नुपर्ने हुन्छ। तथापि पार्टी अध्यक्ष वलीबाट पुन: टिकट प्राप्त गर्नु उनका लागि चुनौतिपूर्ण त छँदैछ ।

तरबारको धारमा यज्ञराजको राजनीतिक भविस्य
२० औं बर्ष देखि आफुले योगदान गरेको पार्टी बिभाजनको स्थितिमा पुगेपछि यज्ञराजको मात्र नभई सिंगो एमाले पार्टीको राजनीति कठिन मोडमा पुगेको छ। पार्टीको नाम नेकपा एमाले र चुनाब चिन्ह सुर्य प्रति आम कार्यकर्ता र जनताको आकर्षण भएका कारणले एमाले बिभाजन भएपनी शक्तिशाली पार्टी बन्ने करिव निश्चित नै छ। तर फुटेको पार्टी सफल भएको राम्रो इतिहाँस नेपालमा नभएको र नयाँ बन्ने पार्टीलाई लोकप्रिय एजेन्डा बिना स्थापित हुन कठिन हुनाले नयाँ पार्टी र त्यसका नेता कार्यकर्ताको राजनीतिक भबिष्य अन्यौलपूर्ण देखिन्छ।
पटक पटक संसदीय मोर्चामा सफल बनिसकेको ,जिल्लाको बिकासमा निरन्तर लागिपर्ने एउटा सम्भाबना बोकेको,धेरै युवाहरुले चिनेका ओखलढुंगाको नेता हुन् यज्ञराज सुनुवार। तर अहिलेको राजनीतिको कठिन मोडमा उनको राजनीतिक भबिस्य तरबारको धारमा छ भन्दा अत्युक्ति नहोला।
                                                                      


Published :१९ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media