सेयर बजारमा क्लोजआउटको समस्या

राष्ट्रपाटी न्युज

५ श्रावण २०७८

काठमाण्डौ । क्लोजआउट भनेको कारोबार पूर्ण रुपमा राफसाफ नहुनु हो। पछिल्लो समय सेयर बजारमा उछाल आएसँगै क्लोजआउटको समस्या पनि ह्वात्तै बढेको पाइन्छ।

कोरोना महामारीबीच अन्य क्षेत्र खासै नचलेका कारण सेयर बजारमा सबैको ध्यान केन्द्रित भएको देखिन्छ। सोही कारण बजारमा छोटो समयमै उछाल आएको छ। कारोबार रकम पनि ह्वात्तै बढेको छ।

अहिले बजार पूर्ण रुपमा प्रविधिमैत्री पनि बनेको छ। ९० प्रतिशत लगानीकर्ताले अहिले अनलाइन प्रणालीबाटै कारोबार गरिरहेका छन्।

सेयर बजारमा आकर्षण बढेसँगै क्लोजआउटको समस्या भने झनै विकराल बन्दै गएको छ। प्रविधिमैत्री बजारमा क्लोजआउटको समस्या कम हुँदै जानुपर्ने तर्क भइरहेकै बेला विभिन्न कारणले यो समस्या झनै बढेको पाइन्छ।

सीडीएससीका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा क्लोजआउटबापत लगानीकर्ताहरुले १५ करोड ३४ लाख रुपैयाँ बढी तिरेका छन्। यो क्लोजआउटको रकम अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा १४.४३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा क्लोजआउट बापत लगानीकर्ताहरुले १३ करोड ४१ लाख रुपैयाँ बढी तिरेका थिए।
स्टक ब्रोकर्स एसोसिएसन नेपालका अध्यक्ष सन्तोष मैनाली हाल नेपालको सेयर बजारमा प्रयोग भइरहेको प्रविधि भरपर्दो नरहेका कारण क्लोजआउटको समस्या बढेको बताउँछन्। ‘अर्को कारण भने हाल बजारमा धेरै नयाँ लगानीकर्ता आएका छन्, तिनीहरुलाई सेयर बेचेपछि ईडीआईएस गर्नुपर्छ भन्ने जानकारी नहुँदा पनि यो समस्या बढेको हो’, उनले भने।
मैनालीका अनुसार क्लोजआउट भनेको कारोबार पूर्ण रुपमा राफसाफ नहुनु नै हो। ‘धितोपत्र कारोबार विनियमावलीमा भएको नियमअनुसार अक्सन मार्केट सञ्चालन गर्न सके ८० देखि ९० प्रतिशत क्लोजआउटको समस्या कम हुन्छ’, उनले भने।
मैनालीका अनुसार क्लोजआउटबापत उठेको रकमको २५ प्रतिशत आकस्मिक लाभ कोषमा जान्छ र बाँकी सेयर नपाउने लगानीकर्ताले पाउँछन्।
(समाचार :- विजशाला )


Published :५ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media