एमाले फुट रोक्न यज्ञराज सुनुवारको सक्रियता

राष्ट्रपाटी न्युज

१० श्रावण २०७८

काठमाडौं । नेकपा एमालेको आन्तरिक एकता कायम गर्न सक्रिय १० सदस्यीय कार्यदलका नेताहरुसँग आज एमालेका सांसदहरुले छलफल गर्ने भएका छन् । एमाले विभाजन हुन नदिन र पार्टीमा सुदृढ एकता कायम गर्न गठित सांसदहरुको अनौपचारिक फोरमले नेताहरुलाई दबाब दिइरहेको सांसद यज्ञराज सुनुवारले बताए ।

सिंहदरवारमा दिउँसो हुने छलफलमा कार्यदलका नेताहरु सबैलाई एकै ठाउँमा राखेर सांसदहरुले १० बुँदे सहमतिको बारेमा छलफल गर्न लागेका हुन् ।

सांसद तथा एमाले पर्वतका अध्यक्ष पदम गिरीले १० बुँदे सहमति मान्दिन भन्ने नेताहरुलाई कार्यदलले क्रस गरेर अघि बढ्न सक्छ कि सक्दैन भनेर आफूहरुले सोध्न खोजेको बताए ।

उनले भने, ‘कार्यदलले सर्वसम्मत रुपमा १० बुँदे सहमतिमा हस्ताक्षर गरेर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझायो । पार्टीले सहमति अनुमोदन पनि गरेको छ । अब त्यसका आधारमा पार्टीलाई एकताबद्ध बनाएर लैजान को बाधक बन्यो त ? यसबारेमा हामीले कार्यदलमा रहेका नेताहरुलाई सोध्न खोजेका हौं ।’
यसअघि लगातार दुई दिन एमालेका दुवै समुहका सांसदहरुले पार्टी एकताका लागि दबाब अभियान चलाएका थिए । ओली पक्षका कृष्णप्रसाद दाहाल,सूर्य पाठक,पदम गिरी,शान्ति पाख्रिन,यज्ञ बोगटी तथा माधव नेपाल पक्षका यज्ञराज सुनुवार, भपट रावल, जयकुमार राई, दीपकप्रकाश भट्ट लगायका सांसदले कार्यदलका नेताहरुसँग छलफल गर्ने निर्णय गरेका थिए ।

विघटित कार्यदलमा माधव नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् भने ओली पक्षबाट सुवास नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र बिष्णु रिमाल छन् ।

कार्यदलमा पछिल्लो समय माधव नेपाल पक्षका भीम रावल पनि सक्रिय भएका थिए । दोस्रो तहका नेताहरुले अब पार्टी एकताबद्ध हुने कि नहुने भन्ने प्रष्ट पार्नुपर्ने सांसदहरुको मत छ ।

सांसदहरुले चलाएको एमालेको आन्तरिक एकता सुदृढीकरण अभियानको नेतृत्व गरिरहेका सांसद तथा केन्द्रीय सदस्य यज्ञराज सुनुवारले कार्यदलका दुवै तर्फका संयोजकहरु र अन्य नेताहरुसँग कुरा बुझ्ने र आफ्ना कुरा राख्ने गरी सांसदहरुलाई खबर गरिएको बताए ।

 


Published :१० श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media