किसानलाई सुन्तला बिक्री गर्न भ्याइनभ्याइ

पर्वत । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका किसानलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ।

मोदी गाउँपालिका–२ देउपुरमा चार वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि पछिल्ला  वर्षमा भने किसानले आफ्नै ढंगले व्यापारीसँग कारोबार गर्ने गरेका छन्। काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारी सुन्तला किन्न बगानमै आउने गरेका छन्।

अगुवा किसान दाताराम चापागाईंका अनुसार सुन्तला टिप्नका लागि व्यापारीका प्रतिनिधिको चहलपहल बढ्दो छ। सुन्तला टिप्ने र लैजानेहरूका कारण मेला लागे जस्तै हुने गरेको छ। थोक व्यापारीले बगैँचाबाट नै खरिद गरेपछि किसानलाई पनि सहज भएको स्थानीय शिक्षक भूमिराज शर्माले बताए। “देउपुरका धेरैजसो सुन्तला यसपटक पोखरा पुगेका छन्। केही नारायणगढ, काठमाडौँ र बुटवल तथा स्थानीय बजारमा बिक्री हुने गर्छन्,” उनले भने।

अर्का किसान ख्यामराज पौडेलले सुन्तला बिक्रीबाटै राम्रो आम्दानी हुने बताए। उनले गत वर्ष ५ लाख रुपैयाँको सुन्तला बिक्री गरेका थिए। दैनिकजसो व्यवसायीहरू ट्रक लिएर आएर सुन्तला टिपेर लैजाने गरेको उनले बताए।

यस गाउँबाट गत वर्ष करिब ५ करोड रुपैयाँका सुन्तला बिक्री भएका थिए। यसपटक पनि सोही हाराहारीमा कारोबार हुने अपेक्षा गरेका छन्। विगत दुई दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेतीबाट किसानले मनग्य आम्दानी गर्दै आएका छन्। सुन्तलाखेती गरेपछि जीवनस्तरमा समेत परिवर्तन आएको बताउन थालेका छन्। यहाँका १६० भन्दा बढी किसान अन्य खेती छाडेर व्यावसायिक सुन्तलाखेतीमा लागेका हुन्। गाउँमा पक्की मोटरबाटोको सुविधा पुगेपछि सुन्तला खेतीतर्फ थप आकर्षण बढ्दै गएको छ।

कोदो मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिक रूपमा प्रत्येक परिवारले  २ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाई गर्न थालेको चापागाईंले बताए। “मकै, कोदो लगाउँदा २० हजार कमाई नहुने ठाउँमा सुन्तला लगाउँदा ५ लाख कमाई हुन्छ,” उनले भने, “अहिले देउपुरका सबै घरमा २ लाखभन्दा बढी कमाउने किसान छन्।”

शुरूमा केहीले परीक्षणका लागि सुन्तलाको बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि गाउँभरि नै त्यसको विस्तार भएको हो। तर जलवायु परिवर्तनको असरसँगै सुन्तलामा रोगकिराको प्रकोप बढ्ने र रूख सुक्दै जाने समस्या पनि छ। यस वर्ष पनि औँसा किराको प्रकोपले केही सुन्तला झरेर नष्ट भएको थियो ।


Published :पुस ११, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media