उपत्यकामा २७ गतेसम्म निषेधाज्ञा थप

राष्ट्रपाटी न्युज

१९ श्रावण २०७८

काठमाडौं- काठमाडौँ उपत्यकामा तालिम सेमिनार, बैठक तथा गोष्ठी भर्चुअलका माध्यमबाट मात्रै सञ्चालन गर्नुपर्ने गरी उपत्यका प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेकाले साउन २१ देखि २७ गतेसम्म थपिएको निषेधाज्ञामा प्रत्यक्ष सहभागी भएर गरिने यस्ता कार्यक्रममा रोक लगाइएको हो ।

यसअघि गोष्ठी, तालिम, सेमिनार, बैठक तथा प्रशिक्षणजस्ता कार्यक्रम उपस्थित भएरै गर्नुपर्ने भएमा २५ जनाभन्दा बढी नहुने गरी सञ्चालन गर्न अनुमति दिइएको थियो । कोभिड–१९ का बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि यस्ता भीडभाडजन्य गतिविधि रोक्न कार्यक्रम भर्चुअलका माध्यमबाट गर्न भनिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । मापदण्ड उल्लङ्घन हुँदा जोखिम बढ्न थालेको उपत्यका प्रशासनको निष्कर्ष छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित आजको बैठकले उक्त आदेश जारी गरेको हो ।

आदेशमा कोभिड–१९ को लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन र भीडभाडबाट बच्न अनुरोध गरिएको छ । स्वास्थ्यको मापदण्ड पूर्णपालना गर्न पनि अनुरोध गरिएको छ । त्यसका लागि सुरक्षा निकायबाट अनुगमन गरिने र अनुगमनका क्रममा अवज्ञा गरेको पाइएमा कोभिड–१९ सङकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने चेतावनी दिइएको छ ।

जारी आदेशमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितका खेलकूद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न/गराउन नपाइने विगतको व्यवस्थालाई कायम राखिएको छ ।

यस्तै खुला स्थानमा मानिस भेला हुन, सभाजुलुस गर्न, जात्रा महोत्सव, भोजभतेर आदि गर्नगराउन नपाइने तथा नित्य पूजाबाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका पनि गर्न नपाइने आदेशमा उल्लेख छ । औषधि तथा स्वास्थ्यसम्बन्धी पसल भने जुनसुकै बेला खोल्न सकिने छ तर अन्य पसल, व्यवसाय भने साँझ ७ बजेसम्म मात्रै खोल्न पाइने छ । स्थानीय ढुवानीका साधन बिहान ९ देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । व्यवसाय सञ्चालन गर्दा भने स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने काठमाडौँ प्रशासनले जनाएको छ ।

अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुराँ तथा फाष्टफुड तथा अन्य अडरको हकमा टेक–अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । सिट क्षमताअनुसारको यात्रु राखेर यातायातका साधन सञ्चालन गर्न सकिने तर त्यसरी सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूर्णपालना गर्नुपर्ने छ । टेम्पु र नीलो माइक्रोमा यसअघि लागू भएको नौ जना मात्रै यात्रु राख्न पाइने र यात्रुको बीचमा प्लाष्टिकको छेकबार लगाउनुपर्ने व्यवस्थालाई कायम गरिएको छ ।
यसअघिको आदेशानुसार लामो दूरीका सवारी साधन मापदण्ड पालना गरेर चलाउन पाइने छ । सार्वजनिक तथा निजी ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने व्यवस्था छ । तोकिएको परीक्षा सञ्चालन गर्दा भने एक कोठामा २५ जनाभन्दा बढी राख्न नपाइने र स्वास्थ्यका सबै मापदण्ड पूर्णपालना गर्नुपर्नेछ ।


Published :१९ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media