फाल्गुनमा कोभिशिल्ड लगाएकालाई दोस्रो डोज एष्ट्राजेनेका खोप

राष्ट्रपाटी न्युज

२४ श्रावण २०७८

काठमाडौं– जापानबाट आएको एष्ट्राजेनेका खोप दोस्रो मात्राको प्रतिक्षामा रहेका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई लगाइने भएको छ ।

हिजो काठमाडौं आइपुगेको कोरोना विरुद्धको ५ लाख १३ हजार ४ सय २० मात्रा एष्ट्राजेनेका खोप सातै प्रदेशका ६५ वर्ष माथिका १३ लाख बढी जेष्ठ नागरिकले भोलीदेखि पाउँदैछन् । फागुन तेस्रो साता ६५ वर्ष माथिका जेष्ठ नागरिकले कोभिशिल्ड खोपको पहिलो डोज लगाएका थिए ।

जापान सरकारले कोभ्याक्स मार्फत अनुदानमा दिएको १६ लाख ऐष्ट्राजेनेका खोपमध्ये पहिलो चरणमा ल्याउन बाँकी २ लाख ८७ हजार मात्रा खोप आज आउदै छ । दोस्रो चरणमा जापानले दिएको बाँकी ८ लाख मात्रा खोप चाडै ल्याइने मन्त्रालयले जनाएको छ ।

दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ । वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति, मृगौलाले काम नगरी डायलाइसिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका बिरामीलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप लगाइने विभागले जानकारी दिएको छ ।


Published :२४ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media