कक्षा १२ को परीक्षा आजबाट शुरु

राष्ट्रपाटी न्युज

३० भाद्र २०७८

काठमाडौं- कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । गत साउन ३१ मा हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण स्थगित भएपछि आजबाट पुनः शुरु गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा अधिकांश विद्यार्थीले खोप लगाएपछि शुरु गरिएको जनाएको छ । परीक्षा असोज ८ गतेसम्म संचालन हुनेछ ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र सङ्क्रमण पनि बिस्तारै नियन्त्रण हुने अनुमान गरी परीक्षा सञ्चालन गरिएको जानकारी दिए ।

यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएको जनाइएको छ ।

परीक्षामा विद्यार्थीलाई होम सेन्टर को व्यवस्था मिलाइएको छ । विद्यार्थीलाई अरू विद्यालयमा परीक्षा दिन जानका लागि असुविधा हुन सक्ने भएकाले होम सेन्टरको सुविधा दिइएको हो । यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ ।


Published :३० भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media