देशभर बाढीपहिरोमा परी ४८ को मृत्यु , ३१ बेपत्ता

राष्ट्रपाटी न्युज

३ कार्तिक २०७८

काठमाडौं- मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर अहिलेसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा नौजना छन् । दुई जिल्लामा पहिरोले मानवीय क्षति गराएको हो ।

त्यसपछि पहिरोमा परी हुम्ला, धनकुटा र पाँचथरमा छ/छजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् । पहिरोमा परेर सबैभन्दा बढी बझाङ्मा २३ जना बेपत्ता भएका छन् । यस्तै डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँचजना बेपत्ता छन् । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो ।

यो क्रम आज पनि जारी छ । हराएकाहरुको खोजी कार्य र फसेकाहरुको उद्धार कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।


Published :३ कार्तिक २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media