कपनमा कल्भर्ट निर्माणकार्य समयमा नै सक्न डा.भट्टराईको ठेकेदारलाई चेतावनी

काठमाडौं ।बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १०, ११ ,१२ तथा काठमाडौं महानगरपालिका वडा नम्बर ६ लाई समेत डुवान समस्याबाट ग्रस्त बनाइरहेको धोवी खोलामा कल्भर्ट बनाउने कार्य चलिरहेको छ। हाल कपन साततले-आनी गुम्बा सडक क्षेत्रको मिलनचोक तरकारी बजार देखि आनिगुम्बा सम्म निर्माण हुन लागेको सो बक्स कल्भर्ट निर्माणको जिम्मा हाइ हिमालयन जेभी बालकुमारी ललितपुरले प्राप्त गरेको छ।तर विभिन्न बाहना बाजि गर्दै उक्त कम्पनिले काममा ढिला सुस्ती गरिरहेको छ।हाल बिजुलीको पोल नसरेको कारण देखाउदै बाटोमा ढलहरु खनेर अलपत्र पारेको छ भने काम हुँदै गरेको ठाँउमा पनि अत्याधिक ढिला सुस्ती भैरहेको छ।

यसैबिच नेकपा एमालेका स्थायी कमिटी सदस्य डा राजन भट्टराईले उक्त क्षेत्रको अनुगमन भ्रमण गरेका छन् । बर्षौ देखी डुबान समस्याबाट पिडा भोगिरहेका जनताको व्यापक गुनासो आएपछि भट्टराईले सम्बन्धित ठेकेदारका प्रतिनिधि, इन्जिनियर , स्थानीय जनप्रतिनिधि तथा पीडित स्थानीय संग छलफल गर्दै कामलाई द्रुतगतिमा अगाडि बढाउन र समयमा काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई अनुरोध गर्दै अन्यथा जस्तो सुकै कठोर कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका थिए । आगामी बर्षातको मौसम शुरु हुन अगाडिनै कल्भर्ट निर्माणको काम सम्पन्न नभए फेरि कपनमा डुबान समस्या दोहोरिन सक्ने भन्दै उनले कामको गतिलाई अगाडि बढाउन ठेकेदार कम्पनीलाई चेतावनी दिदै सहजीकरण गर्न स्थानीय जनप्रतिनिधिहरु लाई समेत आग्रह गरेका छन् ।
उक्त अबसरमा बूढानीलकण्ठ नगरपालिका वडा नं १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले आगामी वर्षात सम्म योजना सम्पन्न गर्ने सम्झौता गरेको ठेकेदार कम्पनीको कामको गति अत्यन्त ढिलो भएको र आफूले निरन्तर दबाब दिइरहेको भन्दै समयमा काम सम्पन्न नभए जनताको साथ लिएर जुनसुकै निकायमा गएर भएपनि चर्को दवाव दिन तयार रहेको बताएका थिए ।
उक्त अबसरमा वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,नगर कार्यपालिका सदस्यहरु संगम गहतराज र शान्ता ढकाल तथा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
उक्त छलफलमा उक्त योजनाका इन्जिनियर तथा ठेकेदारका प्रतिनिधिहरुले काम समयमा सक्ने प्रतिवद्दता व्यक्त गरेका थिए भने स्थानीय पीडित जनताले विश्वास गरिरहेका थिएनन् ।

वडा नं १२ को आनीगुम्बा देखि वडा नं १० को मिलनचोक तरकारी बजार आरम्भचोकसम्म निर्माण हुने सो ब्लक कल्भर्ट निर्माण योजनाको सम्झौता रकम २८ करोड ७४लाख ३९ हजार ९ सय ५४ रुपैया ३० पैसा रहेको छ।


Published :१४ माघ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media