एमालेलाई गिज्याइरहेको सहिद गुरु लुईटेलको त्यो शालिक !

ओखलढुंगा । तत्कालीन नेपाल राष्ट्रिय शिक्षक संगठन ओखलढुंगाका अध्यक्ष एवं सहिद गुरुप्रसाद लुईटेलको माओवादी द्वन्द्वको समयमा निर्मम हत्या भयो । २०६० साल असोज ६ गते हालको मोलुङ गाउँपालिकाको वरुणेश्वर रामपुरमा उनको निर्मम हत्या गरिएको थियो। तत्कालीन अवस्थामा नेकपा एमालेको समर्थन गरेकै कारण आस्थाकै आधारमा उनको हत्या भएको थियो ।

हत्या भएको केही वर्षपछि उक्त स्थानमा सहिद गुरुप्रसाद लुईंटेलको अर्धकदको शालिक स्थापना गरिएको छ । नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालले शिलान्यास गरेको र नेता वामदेव गौतमले अनावरण गरेको उक्त शालिक स्थापना भएको धेरै वर्ष भएको छ । तर सो शालिकलाई संरक्षण गर्ने र उक्त क्षेत्रलाई विशेष क्षेत्रका रुपमा विकास गर्ने महत्वपूर्ण काम गर्न ढिलो भइसकेको छ ।

हाल ओखलढुंगा जिल्लामा संघीय सा‌ंसद तथा प्रदेश सांसद एमालेले जितेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार संघीय सांसद छन् भने अम्मिरबाबु गुरुङ प्रदेश सांसद छन् । त्यसमाथि सा‌ंसद गुरुङ त प्रदेश नम्बर १ को मन्त्रीसमेत बनिसकेका छन् । त्यसैगरी उक्त स्थानमा रहेको मोलुङ गाउँपालिकासमेत नेकपा एमालेले जितेको थियो । शालिक स्थापनाका बेला तत्कालीन संघीय सांसद यज्ञराज सुनुवारले सक्रियता देखाए पनि पछिल्लो समयमा यसको संरक्षणमा उनले समेत चासो देखाएनन् । प्रदेश सांसद अम्मिरबाबु गुरुङ मन्त्री बने पनि उनले यसको निर्माण र संरक्षणमा थोरै अग्रसरतासमेत नदेखाएको गुरु लुईटेल अध्ययन तथा विकास केन्द्रका एकजना पदाधिकारी बताउँछन् । त्यसैगरी मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईसँग पटक-पटक शालिक संरक्षणका लागि आग्रह गर्दा उनले समेत शालिक क्षेत्रको संरक्षण र विकासमा चासो देखाएनन् । सामान्य योगदानसमेत नगरी उनको कार्यकाल सकिनै लागेको छ ।

एमाले भएकै कारण आफ्नो जीवन उत्सर्ग गरेका गुरुप्रसाद लुईंटेल तथा छवि कार्कीहरुलाई एमालेले कतै बिर्सिएको त होइन भन्ने भान पर्न थालेको गुरु लुईंटेल अध्ययन तथा विकास केन्द्र नेपालका एकजना पदाधिकारी बताउँछन् । गुरु लुईटेल तथा छवि कार्कीहरुको हत्यामा संलग्न मानिसहरु एकएक गरी एमालेमा प्रवेश गर्ने र तिनीहरु नै एमालेका नेताहरुको निकट बनेर विभिन्न गाउँपालिका तथा प्रदेश एवं संघीय संसदमा एमालेको उम्मेद्वार बन्ने खतरा रहेको उनले आश‌ंका गरे । राजनीतिको नाममा जस्तोसुकै मानवताविरोधी गतिविधिमा संलग्न अपराधीहरुलाई एमालेको राजनीतिमा हावी गराउने र अझ विभिन्न जिम्मेवार ठाउँमा टिकटसमेत दिने कार्य भएमा त्यो निन्दनीय हुने उनको धारणा छ ।
एमाले भएकै कारण गुरु लुईंटेलले मृत्युवरण गर्नुपरेको र हिजोदेखि तिनै अपराधमा संलग्नहरुलाई पार्टीले संरक्षण दिने र पार्टीमा समर्पित हुनेलाई बेवास्ता गरेको देख्दा गुरु लुईंटेलको शालिकले एमालेलाई गिज्जाइरहेको उनी बताउँछन् ।


Published :७ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media