आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउन निर्देशन

राष्ट्रपाटी न्युज

१८ बैशाख २०७९

ललितपुर । ललितपुरको सुनाकोठी, ठेचो र चापागाउँ सडक किनारमा झण्डालगायतका प्रचार सामग्री राखेर उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेकाे आराेप छ । यी सडकमा नेकपा माओवादी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीले झण्डा राखेका हुन् ।

८ चैत ०७८ मा जारी राजपत्रको सूचनामा प्रकाशित आचारसंहितामा ‘कुनै पनि उम्मेदवारले आफ्नो कार्यालयबाहेकको स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै पनि किसिमको डिजिटल बोर्ड, फलेक्स वा साइन बोर्ड राख्न वा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने’ उल्लेख छ ।

ठेचोका रविन महर्जनले रातको समयमा पार्टीका कार्यकर्ताहरू आएर झण्डा राखेको बताए । उनले भने, ‘यी सामग्री रातको समयमा राखिएका हुन् । पहिले नेपाली कांग्रेसले राखेको थियो । पछि एमालेको पनि थपे ।’

ललितपुरकी जिल्ला निर्वाचन प्रमुख गोमा धमलाले आचारसंहिता विपरीत यसरी प्रचार सामग्री राख्न नहुने बताइन्,’ भनिन्, ‘आचारसंहिता विपरीतका यस्ता प्रचार सामग्री तुरुन्त हटाउन निर्देशन दिन्छु ।’


Published :१८ बैशाख २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media