गृहमन्त्री खाँणले गरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

राष्ट्रपाटी न्युज

२१ बैशाख २०७९

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न लागिएको अन्तर्राष्ट्रिय उडानको तयारीबारे जानकारी लिएका छन् ।

विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले गृहमन्त्री खाँणले आज बिहान विमानस्थलको निरीक्षण गर्दै अन्तर्राष्ट्रिय उडानबारे जानकारी लिएको बताए ।

गृहमन्त्री खाँणलाई आगामी २ जेठमा बुद्ध जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जानकारी दिएको केसीको भनाइ छ ।

केसीका अनुसार जजिरा एयरलाइन्सले पहिलो उडान भर्नेछ । त्यसका लागि विमानस्थल अध्यागमन कार्यालयले सहमति गरिसकेको केसीले बताए ।

निरीक्षणका क्रममा मन्त्री खाँणले विमानस्थलमा अध्यागमनको तयारी, आगमन र प्रस्थानको तयारीबारे पनि केसीसँग जानकारी लिएका थिए ।

खाँण आजै काठमाडौं हुँदै विराटनगर जानेछन् । त्यहाँ पार्टीको चुनावी सभा आज आयोजना हुँदैछ ।


Published :२१ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media