प्रहरीद्वारा निर्वाचन बहिस्कार गर्ने नेकपा (बहुमत) का संयोजकसहित तीनजना पक्राउ

राष्ट्रपाटी न्युज

२९ बैशाख २०७९

काठमाडौं । स्थानीय तह निर्वाचन बहिस्कार गर्ने नीति लिएको नेकपा (बहुमत) पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान इलाका प्रहरी कार्यालय भालुबाङ दाङबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट बास्तोलासहितलाई नियन्त्रणमा लिएको हो ।

भालुबाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालले निर्वाचन बहिस्कार गर्ने उक्त पार्टीको नीति भएकोले सोधपुछका लागि नियन्त्रणमा लिएको बताए।

‘नयाँ पार्टी रहेछ उहाँको । निर्वाचन पनि बहिस्कार गर्ने नीति रहेछ । त्यही भएर के कसो भनेर सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ’, डीएसपी रिजालले भने ।

कञ्चनसहितका नेताहरूलाई कोहलपुरतिर जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्थानीय तह निर्वाचनअन्तर्गत मौन अवधि जारी रहँदा बुटवलमा बम विस्फोट भएको थियो । विस्फोट स्थलमा कञ्चन नेतृत्वको पार्टीको पर्चा भेटिएको थियो ।

हालै नेत्रविक्रम चन्द ‘विप्लव’ले कारबाही गरेपछि कञ्चन नेतृत्वमा उक्त पार्टी गठन भएको हो ।

विप्लवले पनि कञ्चनलाई कारबाही गरेका थिए । विप्लव निर्वाचनको पक्ष र कञ्चन विपक्षमा छन् । यही विषयमा उनीहरूबीच मतभेद हुँदा अन्ततः पार्टी नै अलग भएको हो ।


Published :२९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media