विद्यालयका प्रधानाध्यापकदेखि माओवादी अध्यक्ष प्रचण्डसम्मलाई आयोगले सोध्यो स्पष्टीकरण

राष्ट्रपाटी न्युज

२९ बैशाख २०७९

काठमाडौं । निर्वाचन आचारसंहिता, २०७८ उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले दैनिक विभिन्न व्यक्तिहरुलाई स्पष्टीकरण सोध्दै आएको छ ।

स्पष्टीकरण सोधिएकामा कार्यकर्तादेखि नेता र पत्रकारदेखि सञ्चार गृहसम्म रहेका छन् । आयोगले स्पष्टीकरण माग्न मन्त्रीलाई पनि छुटाएको छैन । तर गम्भीर कारबाही कसैलाई पनि गरेको छैन ।

आयोगले पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग स्पष्टीकरण सोधेको छ ।

आयोगले प्रचण्डलाई चितवनको भरतपुरमा वैशाख २३ गते आयोजित चुनावी सभामा दिएको अभिव्यक्तिका सम्बन्धमा स्पष्टीकरण सोधेको हो ।

‘यदि यस भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाललाई मतदान नगरी पराजित गराएमा देश दुर्घटनामा जानेछ’ भन्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो । प्रचण्डले मतदातालाई धम्की दिएको भन्ने उजुरी आयोगमा परेको छ ।

आयोगले नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी प्रधानमन्त्री पत्नी राणालाई मतदातालाई अनुचित प्रभाव पार्ने गरी अभिव्यक्ति दिएको जनाउँदै स्पष्टीकरण सोधेको छ । राणाविरुद्ध नेपाली कांग्रेस (बीपी) ले आयोगमा उजुरी दिएको थियो ।

राणाले गठबन्धनका उम्मेदवारलाई जिताएमा प्रत्येक वडाबाट चार पाँच जनाका दरले निशुल्क मलेसिया पठाउने प्रलोभन देखाएको र कांग्रेसले नजितेका स्थानीय तहमा बजेट नपठाउने भनी संविधान विपरीत अभिव्यक्ति दिएको भन्दै आयोगले स्पष्टीकरण मागेको हो ।

मन्त्री आलेविरुद्ध वैशाख २६ गते चुनावी सभामा आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) लाई भोट मागेको, मतदाता भड्काउन भ्रामक भाषण गरेको, तडकभडक गर्दै भोजभतेर गरेको, मतदातालाई रकम बाँडेको, उम्मेदवारको चरित्रहत्या गरेको लगायतका आरोपसहितको उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि स्पष्टीकरण सोधेको छ । मौन अवधि सुरु भएपछि उनले बुधबार पार्टीका उम्मेदवारलाई भोट मागेपछि आयोगले उनीसँग स्पष्टीकरण मागेको हो ।

नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश कमिटी सदस्य तथा प्रचण्डकी छोरी गंगा दाहाललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । दाहालले भरतपुर महानगरपालिकाको मेयरमा माओवादी उम्मेदवार तथा आफ्नै दिदी रेणु दाहाललाई मौन अवधिको समयमा भोट मागेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले पर्साको वीरगन्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सरावगीलाई स्पष्टीकरण सोधेको छ । उनीविरुद्ध मतदाता खरिद गर्न नगदको लेनदेन गरेको भन्ने उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

नेकपा (माओवादी केन्द्र) का तर्फबाट कलैया उपमहानगरपालिका वडा नं. २३ का वडाध्यक्षका उम्मेदवार बिक्रम साहलाई आयोगले स्पष्टीकरण सोधेको छ । उनी चुनाव चिन्ह अंकित टिसर्टसहित प्रचारमा देखिएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई स्पष्टीकरण सोध्दै आचारसंहिताबारे ध्यानाकर्षण गराएको छ । पोखरेलले निर्वाचन आचारसंहिता मान्न जरुरी नभएको भन्ने अभिव्यक्ति दिएपछि आयोगले उनलाई स्पष्टीकरण सोधी ध्यानाकर्षण गराएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । कांग्रेसको चुनावी कार्यक्रममा सरकारी गाडी चढेर पुगेपछि उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले कांग्रेस नेता डा. शशांक कोइरालासँग स्पष्टीकरण सोधेको छ । कोइरालाले गएको प्रतिनिधिसभा निर्वाचनमा आफ्नो ६ करोड रुपैयाँ खर्च भएको बताएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहित लागू भएपछि आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितसँग दुईपटक स्पष्टीकरण सोधेको छ ।

वैशाख १५ गते धुम्बाराहीस्थित नेशनल कलेजले आयोजना गरेको कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर आयोगले पहिलो पटक स्थापितसँग स्पष्टीकरण मागेको थियो ।

स्थापितसँग आयोगले दोस्रो पटक काठमाडौं महानगरपालिकाका अर्का प्रमुखका उम्मेदवार बालेन साहविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर स्पष्टीकरण सोधेको थियो ।
आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै नेकपा (माओवादी केन्द्र) सँग पनि जवाफ मागेको छ । माओवादीले कलैया उपमहानगरपालिका–२३ का वडाध्यक्ष बिक्रम साह लगायतका व्यक्तिहरुले माओवादी केन्द्रको चुनाव चिन्ह अंकित टिसर्टसहित प्रचारमा देखिएको समाचार सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएपछि दलबाट भएको हो वा होइन ? भनी आयोगले जवाफ मागेको हो ।

आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग स्पष्टीकरण सोधेको छ । उनले अग्निपीडित मुक्त कमैयाका घर बनाइदिने प्रतिवद्धता जनाएपछि स्पष्टीकरण सोधेको हो ।

आयोगले निर्वाचन परिवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई समेत स्पष्टीकरण सोधिसकेको छ । वैशाख १९ गते उनले एक टेलिभिजनमा निर्वाचन आचारसंहिता २०७८ विपरीत हुने गरी ‘राजनीतिक दल हैन स्वतन्त्र उम्मेदवारलाई हेर्नुपर्छ’ भनी मतदातालाई प्रभाव पार्ने अभिव्यक्ति दिएको जनाउँदै आयोगले स्पष्टीकरण सोधेको हो ।

यही बीचमा दुर्गा भगवती गाउँपालिका–४ का अध्यक्ष धर्मनाथ चौधरीलाई आयोगले स्पष्टीकरण सोधेको छ । वडा अध्यक्ष चौधरीले निर्वाचनलाई प्रभावित गर्नेगरी गतिविधि गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले नेपाली कांग्रेस पार्टीसँग पनि स्पष्टीकरण मागेको छ । कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रुख चिन्हमा मतदान गरौँ’ शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिएपछि सो राखेको हो वा होइन भनी आयोगले कांग्रेससँग जवाफ मागेको हो ।

तिलोत्तमा नगरपालिका रुपन्देहीका प्रमुख बासुदेव घिमिरेलाई आयोगले स्पष्टीकरण सोधेको छ । दलीय चुनावी प्रचारप्रसारमा खटिएको फोटोसहितको समाचार सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन तथा सम्प्रेषण भएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले नेपाल राष्ट्र आधारभूत विद्यालय कपिलवस्तुका प्रधानाध्यापक प्रल्हाद पाण्डेसँग स्पष्टीकरण मागेको छ । उनी दलीय चुनावी प्रचारप्रसारमा संलग्न रहेको भन्दै फोटोसहितको समाचार प्रकाशन भएपछि निर्वाचन आयोगले उनीसँग जवाफ मागेको हो ।

आयोगले मेलम्ची नगरपालिका–१० का वडाध्यक्ष पदका उम्मेदवार अमृत खनाललाई पनि स्पष्टीकरण सोधेको छ । मतदाताको पाउमा एक हजारको नोट राखेर भोट माग्दै गरेको फोटोसहितको समाचार सञ्चार माध्यममा प्रकाशन भएपछि आयोगले उनीसँग स्पष्टीकरण मागेको हो ।

यस्तै आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई स्पष्टीकरण सोधेको छ । मन्त्री मोक्तान चुनावी प्रचारमा खटिएको फोटोसहितको समाचार प्रकाशन भएपछि के भएको हो भनी आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले महिला पुनर्स्थापना केन्द्र (ओरेक) सँग पनि स्पष्टीकरण सोधेको छ । ओरेकले काठमाडौं महानगरपालिकाका प्रमुख पदका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितबारे जारी गरेको प्रेस विज्ञप्ति निर्वाचन आचारसंहिता प्रतिकूल रहेको जनाउँदै स्पष्ट पार्न भनेको हो ।

आचारसंहिता उल्लंघन गर्ने २१२ मिडियामाथि कारबाही

प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ वटा मिडियामाथि कारवाही गरेको छ ।

काउन्सिलका अनुसार कारबाहीमा पर्ने मिडियामा २३ वटा पत्रपत्रिका, २० वटा रेडियो, १० वटा टेलिभिजन, ८६ वटा अनलाइन न्युज पोर्टल र ४४ वटा वेब पोर्टल रहेका छन् । यस्तै २९ जना पत्रकारलाई पनि कारबाही गरिएको छ ।

प्रकाशित तथा प्रसारित भएका २२३ वटा सामग्रीलाई लिएर काउन्सिलले २१२ वटा मिडियालाई कारबाही गरेको हो ।


Published :२९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media