लमजुङमा स्थानीय तहको निर्वाचनमा एमाले पहिलो पार्टी

राष्ट्रपाटी न्युज

११ जेष्ठ २०७९

लमजुङ । स्थानीय तह निर्वाचन परिणाम अनुसार लमजुङमा नेकपा एमाले पहिलो पार्टी बनेको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरुको मत परिणाम अनुसार नेकपा एमालेको मतभार धेरै देखिएको हो । जिल्लामा नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षहरुले प्राप्त गरेको मत अनुसार नेकपा एमालेको पक्षमा ४२ हजार सात सय २१ मत आएको छ भने गठबन्धन दलहरुका प्रमुख उम्मेदवारहरुको मत ४१ हजार ६३ रहेको छ ।

स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखहरुले प्राप्त गरेको मत अनुसार निर्वाचन क्षेत्र ख मा नेकपा एमालेको मत धेरै छ भने निर्वाचन क्षेत्र प्रदेश क मा गठबन्धनको मतभार बढी देखिएको छ । प्रदेश क मा गठबन्धन दल चार सय २१ मतले अगाडि देखिएको हो भने प्रदेश ख मा दुई हजार ७९ मतले नेकपा एमाले अगाडि देखिएको छ ।

निर्वाचन मत परिणाम अनुसार प्रदेश सभा क मा गठबन्धन दलका उम्मेदवारहरुको प्राप्त मत २० हजार एक सय २७ रहेको छ । सोही निर्वाचन क्षेत्रमा नेकपा एमालेको पक्षमा १९ हजार सात सय ६ मत परेको छ । त्यसैगरी प्रदेश सभा ख मा गठबन्धन दलका उम्मेदारहरुको पक्षमा २० हजार नौसय ३६ मत परेको छ भने नेकपा एमालेको पक्षमा २३ हजार १५ मत परेको छ ।

प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेश निर्वाचन क्षेत्र क अन्तर्गत राईनास नगरपालिका, दुधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका, मस्र्याङदी गाउँपालिका र बेसीशहर नगरपालिकाको वडा नम्वर १० र ११ रहेका छन् । त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र ख मा बेसीशहरका एक देखि ९ सम्मका वडा, सुन्दरवजार नगरपालिका, मध्यनेपाल नगरपालिका र क्होलासोँथार गाउँपालिका रहेका छन् ।

निर्वाचन परिणाम अनुसार जिल्लाका आठवटै स्थानिय तह प्रमुखहरुको मत परिणाम अनुसार नेकपा एमालेको पक्षमा एकहजार ६ सय ५८ बढी मत आएको हो ।

यद्यपि यही मत परिणामलाई आधार बनाएर राजनीतिक दलहरु आगामी चुनावको रणनीति बनाउने तयारीमा छन् । स्थानीय तह निर्वाचनमा केही प्रतिशत मतदाताहरु राजनीतिक दल न्दा पनि व्यक्तिविशेष प्रभावित हुने पाइएकोले आगामी निर्वाचनको परिणाम आँकलन गर्न सकिँदैन ।

जिल्लामा नेकपा एमालेको मत यकिन गर्न सकिए पनि काँग्रेस र माओबादीविच गठबन्धन हुँदा दुई पार्टीहरुको मत कति भन्ने यकिन गर्न सकिएको छैन । यद्यपि यो मत परिणामले आगामी म‌सिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुको आधार बनेको छ ।

चार नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा नेकपा एमालेले एक नगरपालिकासहित तीनवटा गाउँपालिका अध्यक्ष जितेको छ । एक गाउँपालिकासहित तीनवटा नगरपालिकामा भने गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले जित हासिल गरेको छ । नेकपा एमालेले बेसीशहर नगरपालिका, मस्र्याङदी, दोर्दी र क्होलासोँथारमा जित हासिल गरेको हो । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले दुधपोखरी गाउँपालिका सहित सुन्दरबजार, मध्यनेपाल र राईनास नगरपालिकामा जित हासिल गरेको हो ।


Published :११ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media