मङ्कीपक्सको जोखिम नेपालमा पनि बढ्यो, सचेत रहन स्वास्थ्यको आग्रह

राष्ट्रपाटी न्युज

१३ जेष्ठ २०७९

काठमाडौं । विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोगको जोखिममा नेपाल पनि रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्कीपक्सका सङ्क्रमित फेला नपरेको बताएका छन् । उनले नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने बताए । यो रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो ।

सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनका र्‍याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट सर्ने गर्दछ । यस्तै श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अङ्गबाट भाइरस शरीरमा प्रवेश गरेर पनि सर्ने गर्दछ ।

बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस सर्ने गर्दछ ।

ज्वरो आउनु, सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनुजस्ता यस रोगमा लक्षण देखिन्छ ।

यस्तै टाउको, ढाड र मा‌ंसपेशी दुख्नु, शरीरका ग्रन्थी बढ्नु, लक्षण १४ देखि २८ दिनसम्म रहन सक्छ र सामान्यता आफैँ हराउने गर्दछ । बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जानु र मृत्युजस्ता सम्भावित जटिलता देखापर्ने मन्त्रालयले जनाएको छ ।

मङ्कीपक्सबाट बच्नका लागि मङ्कीपक्सको शङ्का वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमति व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेशनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पिपिई लगाउने, नियमितरूपमा साबुन पानीले हात धुने, मरेका वा बिरामी जनावरको सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडा तातो पानीले धुने, सङ्क्रमतिको सम्पर्कमा आएका सतह र स्थान निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने गर्नुपर्दछ ।

मन्त्रालयले ज्वरो आएको एकदेखि तीन दिनभित्र अनुहार, हल्केला र पैतलामा दाग वा डाबर देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरेको छ । (रासस)


Published :१३ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media