काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) तथा उपमेयर सुनिता डंगोलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । मेयर साहले सुरुमा नेपाली र नेपाल भाषामा सपथ लिएका छन् ।
त्यस्तै, नवनिर्वाचित उपमेयर सुनिता डंगोलले समेत पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । उपमेयर डंगोललाई मेयर साहले सपथ ग्रहण गराएका हुन् । उपमेयर डंगोलले भने नेपाल भाषामै सपथ लिएकी छिन् । मेयर साहले नेपाली भाषामा सपथ ग्रहण गराउँदा डंगोलले नेपाल भाषामा सपथ लिइन् । मेयर साहले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित वडाध्यक्ष, नगर कार्यसमिति सदस्यहरूलाई समेत पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।