काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको सुरुङको मूल ढोका (गेट) बन्द गरिएको छ । वर्षायाम सक्रिय भएपछि मेलम्ची खानेपानी विकास समितिले सुरुङको ढोका बन्द गरेको हो ।
आज सुरुङको मुख बन्द गरेर त्यहाँबाट प्राविधिकहरु फर्किएकाले काठमाडौंमा मेलम्चीबाट पानी आउन बन्द भएको छ ।
गत ११ वैशाखबाट सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो । अस्थायी बाँध बाँधेर सिधै सुरुङमा पानी हालिएकाले वर्षाले सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङको ढोका बन्द गरिएको आयोजनाले जनाएको छ ।
‘असोज मसान्तसम्मका लागि सुरुङ बन्द गरिए पनि त्यो बेलाको मौसम र वर्षाको अवस्था हेरेर सुरुङको ढोका खोलिने आयोजनाले जनाएको छ ।
१ असार २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको आयोजनाको मुहानस्थल सफा गरेर अहिले मेलम्चीको पानी सुरुङभित्र सोझै हालिएको छ । स्थाय संरचना बनाएपछि मात्रै वर्षामा पनि पानी आउने आयोजनाले जनाएको छ ।
अहिले एशियाली विकास बैंक (एडीबी)ले मेलम्चीको माथिल्लो तटीय क्षेत्र र मुहानस्थलको अवस्थाबारे अध्ययन गरिरहेको र प्रतिवेदनअनुसार नै आयोजनालाई सुरक्षित राख्ने गरी स्थायी निर्माणको काम सुरु हुने आयोजनाले जनाएको छ ।