
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
नेपाल प्रहरीका अनुसार पैँयुटार बस्ने ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए ।
शुक्रबार राति करिब १०ः१० बजे भएको उक्त घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि आरोपित कुमार थापालाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त बालाजुको हिरासतमा राखेको छ । घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।