सिद्धार्थ राजमार्ग स्तरोन्नति गर्न बजेट विनियोजन नगरिएकोमा एमाले सचिव अर्यालको आपत्ति

राष्ट्रपाटी न्युज

१९ जेष्ठ २०७९

काठमाडौं । एमाले सचिव एवं सांसद पद्मा अर्यालले सरकारले पेश गरेको बजेट पूर्वाग्रही रहेको टिप्पणी गरेकी छन् । सरकारले संसद्मा पेश गरेको बजेटमाथिको छलफलमा भाग लिने क्रममा उनले बजेट पूर्वाग्रही रहेको टिप्पणी गरेकी हुन् ।

सचिव अर्यालले पोखरा-सुनौली जोड्ने सिद्धार्थ राजमार्ग स्तरोन्नतिका लागि बजेट विनियोजन नगरिएकोप्रति आपत्ति जनाइन् ।

अघिल्लो सरकारले २०७८/०७९ बजेटको को बुँदा नम्बर २६९ मा सिद्धार्थ र कोहलपुर राजमार्गलाई स्तरोन्नति गर्न ७ अर्ब रकम विनियोजन गरिएको थियो ।

पूर्वमन्त्री समेत रहेकी अर्यालले भनिन्- परियोजनाको डीपीआर बनिसकेको छ । ठेक्का गर्न सकिने अवस्थामा उक्त आयोजना पुगेको छ । यो आर्थिक वर्षमा ठेक्का पनि लगाइएन । अघिल्लो बजेटमा राखिएको उक्त आयोजनालाई समेटिएन । यो सम्बोधन किन भएन ?’

अघिल्लो सरकारले सडक निर्माणलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै वर्तमान सरकार पूर्वाग्रही बनेको उनको भनाइ थियो । ‘विगत सरकारले प्राथमिकतामा राखेको आयोजना यो सरकारको प्राथमिकतामा नपर्नुको कारण के?’ अर्यालले सरकारलाई प्रश्न गरिन् ।


Published :१९ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media